पोखरा, कात्तिक २०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न १० दिन म्याद थपिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई थप १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले मंगलबार अनुमति दिएको हो । रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको यो तेश्रो पटक हो । यसअघि कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन र कात्तिक ८ गते ७ दिन म्याद थप गरेको थियो । दोश्रो पटक थपेको म्याद कात्तिक १४ गते नै सकिएपनि कात्तिक १५ गतेदेखि तिहार विदा परेपछि एक सातापछि मंगलबार मात्रै रविलाई अदालतमा उपस्थित गराइएको हो ।
जिल्ला अदालत कास्कीमा मंगलबार उपस्थित गराइएका रविलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीले समय मागेको थियो । तर न्यायाधीस चन्द्रकान्त पौडेलको ईजलाशले कात्तिक १५ गतेदेखि नै लागु हनेगरी १० दिनमात्रै म्याद थपेको हो ।
कास्कीमा म्याद थपेपनि रविलाई रुपन्देही लैजाने प्रहरीको तयारी छ । रविबिरुद्ध रुपन्देहीमापनि जाहेरी परेकाले सो सम्बन्धि अनुसन्धान गर्न त्यहाँ लैजाने तयारी प्रहरीले गरेको हो । रुपन्देहीमापनि उनीबिरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रुपन्देही अदालतले उनीबिरुद्ध पक्राउ पुर्जी जारी गरेलगत्तै त्यहाँको प्रहरीले रविलाई आफ्नो कार्यालयमा बुझाउन भन्दै कास्की प्रहरीलाई आग्रह गरेको थियो ।
कास्की प्रहरीले सम्पती शुद्धिकरण सम्बन्धि अनुसन्धान बाँकी भएको भन्दै अनुसन्धानका लागि म्याद थप्न आग्रह गरेको थियो । वयान सकेको कास्की प्रहरीले रुपन्देही पठाउने तयारी स्वरुप अदालतबाट म्याद थपेको श्रोत बताउँछ । प्रहरी श्रोतका अनुसार रविलाई रास्वपा कार्यकर्ता छठको पूजापाठमा रुमल्लिएको मौका पारेर लैजाने तयारी गरेको छ ।
रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउने दिन मंगलबारपनि रास्वपा कार्यकर्ता र उनका शुभचिन्तकले नाराबाजीसहित प्रदर्शन जारी राखे । न्यून संख्यामा उपस्थित उनीहरुले ‘केपी तेरो पाराले, दुःख पाए साराले’, ‘दुई तिहाई सरकारको पाराले, दुःख पाए साराले’ ‘रविदाई हाईहाई, भ्रष्टाचारी सरकार बाईबाई’, ‘शरणार्थी बनाएर बेच्नेलाई कारवाही गर’, ‘रविलाई न्याय दे’लगायतका नाराहरु लगाएका थिए ।
प्रदर्शनका क्रममा प्रहरीको घुसपैठ भएको भन्दै रास्वपा कार्यकर्ताले सिभिल ड्रेसमा रहेका एक प्रहरीमाथि कुटपिट गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपबिरुद्ध प्रदर्शनकारीले प्रतिवाद गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि कुटपिटसमेत गरेको थियो । प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको थियो । सो क्रममा तीन पत्रकारमाथिसमेत कुटपिट भएको थियो । घाईते हुनेमा गण्डकी छड्के डटकमका क्यामरा पर्सन राजकुमार माझी, कान्तिपुर टेलिभिजनका क्यामरा पर्सन ईन्द्रप्रसाद पौडेल र दृष्यम मीडियाका सम्पादक विनोद लामिछानेमाथि प्रहरीले कुटपिट गरेको हो ।
घटनापछि रास्वपा कार्यकर्ता थप आक्रोसित भएका थिए । सो क्रममा रास्वपा नेतृ तथा प्रतिनिधि सभाका सांसद सोविता गौतमले उत्तेजित भाषण गर्दै प्रदर्शनकारीलाई उत्तेजित बनाएकी थिईन् । उनले अहिलेको सरकार भ्रष्ट र तानाशाही सरकार भएको भन्दै यसको प्रतिरोध गर्न आह्वान गरिन् । रविलाई फसाउने षडयन्त्र भएको भन्दै उनले भनिन्,‘तानाशाही र भ्रष्ट सरकारबिरुद्ध जिल्ला जिल्लाबाट उर्लिएर आउनूस् र तपाईं जहाँ जे सक्नुहुन्छ त्यहि गर्नूस्, त्यसको जिम्मा हामी लिन्छौं ।’ लगत्तै प्रदर्शनकारीले उत्तेजित नारा लगाउन थालेपछि प्रहरीले हस्तक्षेप गर्नुका साथै भिड तितरबितर पार्न अश्रु ग्याससमेत प्रहार गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।