पोखरा, कात्तिक २२
पोखरामा कात्तिक २४ गते शनिबार अन्र्तराष्ट्रिय स्तरको ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । हिमालयन टुरिजम फोरमको आयोजनामा हुने सो प्रतियोगिता तेश्रो संस्करण हो । यसअघि दुई संस्करण सम्पन्न भइसकेको यो प्रतियोगिता अन्तर्गत चार विधामा प्रतिष्पर्धा हुने आयोजक हिमालयन टुरिजम फोरमले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगिता अन्तर्गत खुल्ला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज ईण्डिभिजुअल दौड, छात्र÷छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार स्पर्धामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । ५० किलोमिटर दुरीको समूहगत दौड पोखराको लेकसाईडस्थित वाराही घाटबाट शुरु भई २ हजार २ सय ५८ मिटर उचाईसम्मको रहनेछ । सो स्पर्धामा खेलाडीहरुले ट्रेल रनिङ, साईक्लिङ र रोईङ गर्नुपर्नेछ । जसमा १७ वटा नेपाली र ४ वटा चीनिया टिमले सहभागिताका लागि नाम दर्ता गरेको आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।
च्यालेन्ज ईण्डिभिजुअल दौडपनि ५० किलोमिटरकै हुने अध्यक्ष पालिखेले बताए । वाराही घाटबाटै शुरु हुने यस स्पर्धामा खेलाडीले २ हजार ३ सय ६६ मिटरको उचाईसम्मको दुरी पार गर्नुपर्नेछ । जसमा १ सय जना नेपाली र ५२ जना चिनिया गरी कुल १ सय ५२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए ।
कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने विद्यार्थी दौड प्रतियोगिता ५ किलोमिटरको हुने जनाइएको छ । सो स्पर्धामा कुल ५ सय जना विद्यार्थीले नाम दर्ता गराइसकेको अध्यक्ष पालिखेले जानकारी दिए ।
प्रतियोगिताको आकर्षणका रुपमा ह्याप्पी रन दौड हुनेछ । प्रतियोगितालाई रमणीय र आकर्षक बनाउने उद्देश्यले राखिएको सो स्पर्धा २ किलोमिटरको हुनेछ । जसमा प्रमुख अतिथि, विशिष्ट अतिथिसहित ५ सय ७९ जनाले सहभागिता जनाउने उनले बताए ।
प्रतियोगिताको समूहगत बिजेताले चार लाख ५८ हजार ४ सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपैयाँ, तृतीय हुनेले २ लाख २९ हजार २ सय रुपैयाँ, चौथो हुनेलाई १ लाख ५२ हजार ८ सय रुपैयाँ र पाचौं हुनेलाई ९५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, च्यालेन्ज ईण्डिभिजुअल दौडतर्फको पुरुष तथा महिला दुबै तर्फको बिजेताले १ लाख ५२ हजार ८ सय, उपबिजेता दुबै तर्फकाले १ लाख १४ हजार ६ सय, तृतीय हुने दुबै तर्फकाले ७६ हजार ४ सय, चौथोदेखि सातौंसम्म हुने दुबै तर्फका प्रत्येकलाई ३८ हजार २ सय र आठौंदेखि दशौं स्थानसम्मका दुबै तर्फकालाई जनही १९ हजार २ सय रुपैयाँ प्रदान गरिने पालिखेले जानकारी दिए ।
विद्यार्थी तर्फ छात्र तथा छात्रातर्फका बिजेताले समान ३० हजार रुपैयाँ, उपबिजेता बनेका दुबै तर्फकाले २५ हजार रुपैयाँ, तृतीय स्थान प्राप्त गर्ने दुबै तर्फकाले २० हजार तथा चौथोदेखि छैटौं स्थानसम्म प्राप्त गर्ने सबैलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।
ह्याप्पी रन दौड प्रतियोगिताका सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले प्रतियोगिता नेपाल–भारत सम्बन्धमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने,‘यस्ता प्रतियोगिताले स्पोर्टस् टुरिजममार्फत पोखराको पर्यटन माथि उकास्न सघाउँछ ।’
नेपालका लागि चीनिया राजदुतावासका डिसिएम वाङसेनले यस्ता प्रतियोगिताका कारण नेपाल र चीनका जनता जनताबीच सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ने बताए ।
पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा हुने यस्ता प्रतियोगिताले सो घोषणालाई व्यवहारिक कार्यान्वयनमा सघाउने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







