रविमाथि अनुसन्धानका लागि पुन: १३ दिन म्याद थप


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक २५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न १३ दिन म्याद थपिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आईतबार अनुमति दिएको हो । रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको यो चौथो पटक हो ।

यसअघि कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन, कात्तिक ८ गते ७ दिन र कात्तिक २० गते कात्तिक १५ गतेबाट लागु हुनेगरी १० दिन म्याद थप गरेको थियो ।

कात्तिक २० गते थपिएको म्याद सकिएपछि आईतबार रविलाई अदालतमा उपस्थित गराइएको थियो । आईतबार न्यायाधीस नवराज दाहालको ईजलाशले १३ दिन म्याद थप गर्न आदेश दिएको अदालत श्रोतले जानकारी दिएको छ ।

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पती शुद्धिकरण सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको छ । उनले जिवी राईसँग मिलेर पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप लागेको छ । उनीसँगै गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी, जिवी राईका साझेदार नेचर हब्र्स प्रालिका सञ्चालक रामकुमार खनाल र लीला पछाईलाई अनुसन्धानका लागि म्याद थप गरिएको छ । जिवी राई भने अझै फरार छन् ।

यसैबीच, रविलाई अदालतमा उपस्थित गराउने दिन आईतबारपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्यो । रविलाई रिहा गर्न दवाब दिने उद्देश्यले हरेक दिन विरोध प्रदर्शन गर्दै आएको रास्वपाले आईतबारपनि आन्दोलनका कार्यक्रमलाई जारी राखेको हो । अदालत उपस्थित गराउने दिन अदालत नजिकैको क्षेत्र वाईचोकमा विरोध प्रदर्शन गर्दै आएको रास्वपाले आइतबार भने सो ठाउँ छाडेर पोखराको चिप्लेढुंगास्थित मानव अधिकारचोकमा कार्यक्रम ग¥यो । वाईचोकबाट सहिदचोकसम्म निशेधित क्षेत्र घोषणा भएकाले त्यहाँ कार्यक्रमहुँदा हरेकपटक झडपको स्थिति बनेकाले आइतबार रास्वपाले सो ठाउँ छाडेर मानव अधिकारचोक रोजेको पार्टी निकट श्रोतले जनाएको छ ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै रास्वपा उप–सभापती डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापती रहिरहने घोषणा गरे । रविको विकल्पबारे बहस चलिरहेका बेला आईतबार उनले भने,‘रवि जेलमा होस् वा बाहिर, जहाँ जिउँदो रहेसम्म रास्वपाको सभापती नै हो । कार्यवाहक कसले पाउँछ वा पाउँदैन गौण कुरा हो ।’ हिरासत वा जेलमै रहेर पार्टी सञ्चालन गरेको उदाहरण संसारमा धेरै रहेको उनको दाबी थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।