कांग्रेसले भन्यो : नगर प्रहरी कुट्ने जनप्रतिनिधिलाई कारवाही गर


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक २७

नेपाली कांग्रेसले महानगर प्रहरी कुट्ने जनप्रतिनिधिलाई कारवाही गर्न माग गरेको छ । नेपाली कांग्रेस पोखरा महानगर समितिले मंगलबार एक विज्ञप्ती निकाल्दै सुरक्षाका खातिर ड्यूटीमा खटिएका महानगर प्रहरीमाथि कुटपिट गर्ने जनप्रतिनिधिलाई कारवाही गर्न माग गरेको हो । महानगरले २८ जना करारका कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका नेकपा एमालेका जनप्रतिनिधिले सुरक्षामा खटिएका नगर प्रहरी सहायक निरीक्षक सन्तबहादुर केसीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट केसीको अण्डकोषमा गम्भीर चोट लागेको थियो । अण्डकोषमा गम्भीर चोट लागेपछि उनको शल्यकृयासमेत गर्नुपरेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

कांग्रेसले सुरक्षामा खटिएका नगर प्रहरीमाथि जनप्रतिनिधिले गरेको आक्रमण, अशोभनीय भएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले विज्ञप्तीमा भनेको छ, ‘लोकतन्त्रमा कुनै पनि विषयको पक्ष वा विपक्षमा आफ्नो अभिमत राख्ने, आन्दोलन गर्ने व्यक्ति वा संगठनको नैसर्गिक अधिकार हो । यद्यपि यस्ता गतिविधिहरू प्रचलित ऐन कानुन भन्दा माथि हुन सक्दैनन् । आन्दोलनका नाममा गरिएका कुनै पनि अराजक गतिविधिको हामी कडा शब्दमा घोर भत्सना गर्दछौं ।’

कांग्रेसले कर्मचारी बचाउन आन्दोलन गर्ने एमाले जनप्रतिनिधिले अर्को कर्मचारीमाथि सांघातिक आक्रमण गर्नु निन्दनीय र दुःखद भएको उल्लेख गरेको छ । साथै उसले घाईते केसीको उपचारका लागि स्वास्थ्य उपचार खर्चको प्रबन्ध गर्नपनि माग गरेको छ । कांग्रेसले यस्ता घटना नदोहो¥याउन आन्दोलित जनप्रतिनिधिहरुलाई चेतावनीसमेत दिएको छ ।

कुटपिटमा संलग्नको अहिलेसम्म पहिचान भएको छैन । यसबारे अनुसन्धान गर्न महानगरलेपनि चासो दिएको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।