पोखरा महानगरद्धारा कृषकलाई आलुको बीउ अनुदानमा वितरण


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०८१ मा प्रकाशित




गण्डकी । पोखरा महानगरपालिकाले महानगरभित्रका कृषकलाई २९ हजार ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

विभिन्न कृषक समूहको मागका आधारमा आलुको बीउ वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमुल, बेलबुटेलगायत स्थानमा पर्याप्तमात्रामा आलुखेती गरिन्छ ।

पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिए । अघिल्लो वर्ष पोखरामा २५ हजार मेट्रिकटन आलु उत्पादन भएको थियो । उनका अनुसार पोखरामा आलुखेती चार सय रोपनी क्षेत्रमा विस्तार गर्नेगरी २९ हजार ५० किलोग्राम बीउ ५० प्रतिशत अनुदानमा दुई सय ५० कृषि फर्म, समूह तथा सहकारीलाई वितरण गरिएको हो ।

आलुको बीउको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारणगरी ५० प्रतिशत अनुदानका लागि महानगरपालिकाले १० लाख १६ हजार सात सय ५० रुपैयाँ लगानी गरेको छ । आलुको बीउ उत्पादनका लागि अघिल्लो वर्ष पोखराका कृषकलाई अनुदान सहयोग गरिएकामा तिनै कृषकबाट यस वर्ष अनुदानमा वितरण गर्ने बीउ खरिद गरिएको उनले जानकारी दिए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।