पोखरा, मंसिर
पोखरा महानगरपालिकाका कर्मचारी संघसंगठनहरुले आफूखुशी करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया बन्द गर्न माग गरेका छन् । महानगरका कर्मचारी संघ संगठनहरुले आज संयुक्त रुपमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यलाई २९ बुँदे ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ज्ञापन पत्रमा भनिएको छ,‘ पोखरा महानगरपालिकाको कार्यालयमा हालसम्म पनि आफुखुशी करार÷सेवा करार÷ज्यालादारीमा कर्मचारी नियुक्ति गर्ने प्रकृया निरन्तर जारी रहेकोले उक्त कार्य तत्काल रोकिनुपर्छ ।’ साथै करारका कर्मचारीलाई ६÷६ महिनामा म्याद थप गर्दा अन्योल हुने भएकाले म्याद सकिन १५ दिन अगाडि नै म्याद थप सम्बन्धि निर्णय गर्नपनि माग गरिएको छ । उनीहरुले करारका कर्मचारीहरुले खाईपाई आएको तलब, भत्तासमेत महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएकाले सो बेरुजु फछ्र्यौटका लागि पहल गर्न माग गरेका छन् ।
साथै कर्मचारी संघसंगठनहरुले हालसम्म कार्यरत कर्मचारीलाई अन्तिम पटक उमेर हद नतोकी स्थायी प्रक्रियामा सहभागी हुने मौका दिनपनि माग गरेका छन् । उनीहरुले भनेका छन्,‘करारको विकल्प नयाँ कर्मचारी करारमा भर्ना हुनै सक्दैन, तसर्थ हाल करार, सेवा करार, अस्थायी, ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई एक पटकको लागी उमेरको हद नतोकी स्थायी गर्ने प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था हुनुपर्छ ।’ साथै स्थायी हुन नसक्ने कर्मचारीहरुलाई सुबिधासहित सम्मानजनक विदाईको व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले हाल करारमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको नियुक्ती मितिसहितको श्वेतपत्र जारी गर्नपनि माग गरेका छन् ।
कर्मचारी संघ संठनहरुले स्वीकृत दरबन्दी बाहेकको पद÷तहमा प्रदेश लोक सेवा आयोगमा माग आकृति फाराम भरी स्थायी पदपूर्तिको लागि लेखि पठाउने र स्थायी पदपूर्ति गराउने कार्यमा संलग्न जिम्मेवार कर्मचारीलाई नियमानुसार कारबाहीको माग गरेका छन् । उनीहरुले अन्यत्र पालिकाबाट प्रदेश सरकार मार्फत महानगरपालिकामा सरुवा भई आउनको लागि सहमति नदिने निर्णय नगर कार्यपालिकाको २५ औं बैठकले गरेको भएपनि त्यसको उलंघन भएकोप्रति ध्यानाकर्षण गराएका छन् । महानगरको सो निर्णय विपरित पूर्वाग्रह तरिकाले राजनीतिक आस्थाका आधारमा कसैलाई सहमति दिने त कसैलाई नदिने कार्य हुँदै आएकाले सो कार्य तत्काल रोक्न उनीहरुले माग गरेका छन् ।
कर्मचारी संघ संगठनहरुले केहि रिक्त पदहरुमा समन्वयको अभावका कारण स्थायी पदपूर्ति र सरुवामार्फत एकै पदमा दोहोरो तरिकाले कर्मचारी पठाउँदा एकभन्दा बढी कर्मचारी हुने अवस्था सिर्जना भएको बताएका छन् । त्यस्तो अवस्थाका कमचारीको सेवा, सुविधा, वृत्ति विकास र सेवाको सुरक्षामा अनिश्चितता पैदा भएकोले कानुनमा भएको व्यवस्था विपरितको कार्य तत्काल रोक्न ज्ञापन पत्रमा माग गरिएको छ । साथै त्यसरी नियुक्ति भएका कर्मचारीहरुको सेवा, सुविधा वृत्ति विकास र सेवाको सुरक्षाको ग्यारेन्टी गर्नपनि माग गरिएको छ ।
कर्मचारी संघ संगठनहरुले राज्य पुनःसंरचना पश्चात हालसम्मपनि पोखरा महानगरपालिकाको कार्यालय, विभिन्न महाशाखाहरु, शाखाहरु, वडा कार्यालयहरु, सेवा केन्द्रहरु, अस्पताल तथा स्वास्थ्य संस्थाहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन नसकिरहेको भन्दै सरोकारवालाहरुको अर्थपूर्ण संलग्नता र सहभागितामा तत्काल पूर्ण रुपमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारीहरुको दरबन्दी एकिन गरि पदपूर्ति गर्नपनि माग गरेका छन् । उनीहरुले महानगरका सम्पूर्ण प्राविधिक कर्मचारीहरुलाई ग्रेड पाउने व्यवस्था गर्न, स्वास्थ्य सेवा र स्थानिय तहमा कार्यरत स्थायी कर्मचारीको तलब निजामती तथा अन्य सेवाका कर्मचारी सरहको बनाउनुपर्ने, दक्ष जनशक्तिलाई ज्यालादारीमा काम लगाउने कार्य पूर्ण रुपमा बन्द गरिनुपर्ने, महानगरका विभिन्न विभाग तथा कार्यालयमा जिम्मेवारी तोक्दा पहुँच वा आग्रह, पूर्वाग्रहका आधारमा नभई कर्मचारीको मर्यादाक्रममा असर नपर्नेगरी योग्यता, क्षमता र कार्यदक्षताका आधारमा गर्न माग गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ,‘ पोखरा महानगरपालिकाको कार्यालय र अन्तर्गतका महाशाखाहरु, शाखाहरु, ईकाईहरु, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरुमा कार्य जिम्मेवारी तोक्दा कर्मचारीको मर्यादाक्रममा असर नपर्ने गरी कर्मचारीको ‘राइट पिपुल राइट प्लेस’ कायम हुने गरी जिम्मेवारी तोकिनुपर्छ ।’
यसैगरी उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत र पदीय जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने व्यवस्था गर्नपनि महानगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएको पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठन समन्वय समिति अध्यक्ष हरिलाल आचार्यले जानकारी दिए ।
ज्ञापनपत्रमा महानगर स्थानीय तह कर्मचारी संगठन समन्वय समितिका अध्यक्ष हरिलाल आचार्य, स्थानीय तह कर्मचारी संघ नेपाल पोखरा महानगर समिति अध्यक्ष रेशम जि.सी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल पोखरा महानगर समिति अध्यक्ष अर्जुुन खत्री, नेपाल निजामती कर्मचारी संगठन पोखरा महानगर अध्यक्ष बेलकुुमारी गुुरुङले हस्ताक्षर गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत…






