लेक लाग्नबाट जोगाउने कोरियन अक्सिजन मास्कको पोखरामा डेमोस्ट्रेसन


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक ४

कोरियामा बनेको लेक लाग्नबाट जोगाउने अक्सिजन मास्कको पोखरामा डेमोस्ट्रेसन गरिएको छ । कोरियन कम्पनी सेभिङ स्टोरीले उत्पादन गरेको अभिनव मास्कको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा डेमोस्ट्रेसन गरिएको हो । ट्रेकिङ एजेन्सिज एशोसियन अफ नेपाल (टान) गण्डकीको आयोजनामा भएको कार्यक्रममा मास्क उत्पादन गर्ने कम्पनीका सञ्चालक हा ग्वाङ होले समुन्द्री तहबाट २ हजार ५ सय मिटर भन्दा बढी उचाईमा लेक (हाई अल्टिच्यूड) लेक लागेको अवस्थामा प्रयोग गरिने यो मास्क नासाबाटपनि प्रमाणित भइसकेको दाबी गरे । आगलागीको समयमापनि अक्सिजनका कारण निसासिएकालाई यस अक्सिजन मास्कको प्रयोग गरेर बचाउन सकिने उनको भनाई छ ।

५ पत्रे यो अक्सिजन मास्कमा दुई वटा ट्यूब हुने उनले बताए । उनका अनुसार एउटा मास्क लगातार २ घण्टासम्म प्रयोग गर्न सकिन्छ । यो मास्क लेक लागिसकेकालेपनि प्रयोग गरेर आफ्नो गन्तव्यमा जान सक्ने कम्पनीका ब्राण्ड एम्बासेडर तथा हिमाल आरोही किम मिकोनले बताए ।

मास्कको नेपाली मुल्य ७ हजार पर्ने नेपालको आधिकारीक बिक्रेता ट्रेकिङ क्याम्प नेपालका संचालक वाङ्गचु शेर्पाले जानकारी दिए । पोखराका लागि भने डिलरको खोजी भइरहेको उनले बताए ।

डेमोस्ट्रेसन कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरुले ट्रेकिङ गाईड र पर्यटकका लागि यो उपयोगी हुने बताए । अक्सिजन सिलिण्डरको विकल्प बन्नसक्ने सम्भावना रहेको भन्दै उनीहरुले यसको उपयोगले लेक लागेर ज्यान जानेको संख्या ह्वात्तै घटाउन सकिने बताए ।

कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले भारतीयलगायतका केहि पर्यटक ८ सय मिटरबाट एकै दिनमा ४ हजार मिटरसम्मपनि पुग्ने गरेकाले उनीहरुका लागि यो अक्सिजन मास्क अत्यन्तै उपयोगी हुने बताए ।

टान गण्डकीका सल्लाहकार डम्बरबहादुर केसीले अक्सिजन मास्कको अभावमा लेक लागेर ज्यान जानेको संख्या बढिरहेको अवस्थामा यो मास्क वरदान सावित हुने बताए । उनले हरेक ट्रेकिङ कम्पनीले अक्सिजन मास्क अनिवार्य लैजान प्रोत्साहन गर्नसके लेक लागेर ज्यान जाने खतरा कम गर्न सकिनेपनि बताए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले लेक लागेर पछिल्लो ११ महिनामा मात्र ४० जनाको ज्यान गएको भन्दै यसलाई अक्सिजनको मास्कको प्रयोगले घटाउन सकिने बताए । जीवनसँग पैसाको तुलना नहुने भन्दै उनले भने,‘यसको प्रयोगले ज्यान बच्छ भने किन प्रयोग नगर्ने भनेर पर्यटकलाई बुझाउन सक्नुभने पर्छ ।’

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमिक्त कार्यालय प्रमुख नवील पोखरेलले पदयात्रामा जानेहरुलाई अक्सिजन मास्कको उपयोगिता बुझाएर सम्भावित दुर्घटनाको जोखिम न्यूनिकरण गर्न सकिने बताए । उनले अक्सिजन मास्कको प्रयोगमा पर्यटन वोर्डले आवश्यक सहयोग गर्नेपनि प्रतिबद्धता जनाए ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले विशेष गरेर भारतीय पर्यटकलाई अनिवार्य अक्सिजन मास्क प्रयोग गर्न लगाउनसके धेरैको ज्यान जोगाउन सकिने बताए । यसका लागि टान गण्डकीले प्रभावकारी भूमिका खेल्ने उनले बताए । अक्सिजन मास्कको प्रयोगबाट पदयात्रा र हिमाल आरोहण सुरक्षित छ भनेर सन्देश दिनुपर्ने भन्दै यसो गर्नसके पर्यटन प्रवद्र्धनपनि हुने उनको भनाई थियो ।

टान गण्डकीका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदीले स्वागत, सचिव गोपालकृष्ण संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा सहसचिव भुपेन्द्रकुमार लामाले कोरियन अतिथि बोल्दा दोभाषेको माध्यमबाट सहजीकरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।