पोखराबाट नियमित अन्तराष्ट्रिय उडानका लागि प्रधामन्त्रीलाई ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध संघसंस्था, निजी क्षेत्रका प्रतिनिधिले मंगलबार काठमाडौंमा प्रधानमन्त्रीलाई भेट गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रदेशका पर्यटन मन्त्री बस्यालले पर्यटन राजधानी पोखरामा पर्यटक बृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुु आवश्यक भएको आग्रह गर्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गरे ।

भेटमा प्रधानमन्त्री ओलीले सन् २०२५ लाई नेपाल सरकारले नेपाल भ्रमण बर्षको रूपमा मनाउन लागेकोले आसन्न चीन भ्रमणको सन्दर्भमा यी विषयमा आफुले प्राथमिकताका साथ कुरा राख्ने बताए । पोखरा र गण्डकी प्रदेश पर्यटनको अथाह सम्भावना भएकोले यसको विकासका लागी आफू प्रतिबद्ध भएको र आफ्नो राजनीतिक जीवनकालमा पोखरासँगको छुट्टै सम्बन्ध भएको प्रधानमन्त्रीले स्मरण गरे ।

सोही अबसरमा निजी क्षेत्रको तर्फबाट पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ध्यानाकर्षणपत्र पेश गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र पोखरा जोडने सडक मार्ग निमाणको काममा भएको ढिलासुस्ती बारे ध्यानाकर्षण गराएका थिए ।

भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री प्रसाद पाण्डे, नेपाल वायुुसेवा निगमका महानिर्देशक प्रदीप अधिकारी, प्रदेश मन्त्रालयका सचिव कुुमानसिंह गुरुङ, पर्यटन तथा उद्योग कार्यालय कास्की प्रमुख दिनेश आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, महासचिव जीवनराज सापकोटा, निबर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्य, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, टेशा पोखराका अध्यक्ष प्रमोद भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघ पूर्व अध्यक्ष बाबुराम गिरि लगायत विभिन्न पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।