नेपाली परम्परा अनुसार झ्याईंझ्याईं बाजा बजाएर अष्ट्रेलियन दम्पतीले मनाए २५ औं वैवाहिक वर्षगाँठ


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०८१ मा प्रकाशित




पोखरा, कात्तिक ८

अष्ट्रेलियन नागरिक म्याथ्यू कोल शनिबार दौरा, सुरुवाल र ढाका टोपीमा सजिएर बसेका थिए । पोखरा लेकसाईडको जरेवरस्थित शेखर प्यालेसको आँगन ध्वजापताकाले रंगिन बनेको थियो भने गेट विवाह घरझैं सजाइएको थियो । आँगनको एक कुनामा विवाह तथा शुभकार्यमा बजाईने पञ्चेबजा घन्किरहेको थियो भने नर्तकीहरु नचगान गरिरहेका थिए । म्याथ्यू कोलका आफन्त तथा साथीभाई जन्ती जाने चटारोमा थिए । अष्ट्रेलिया, अमेरिका, क्यानडाबाटसमेत आएका पाहुनाहरु नेपाली पहिरनमा सजिएका थिए । पुरुषहरु दौरा, सुरुवाल र ढाकाटोपी तथा महिलाहरु सारी र ब्लाउजमा सिंगारिएका थिए ।

उता म्याथ्यूकी श्रीमती मार्लिन दुलही बनेर अर्को होटलमा बसेकी थिईन् । होटल ग्लोबल ईनमा बसेकी उनी दुलाहा कतिबेला आउला भनेर कुरिरहेकी थिईन् । सो होटललाईपनि विवाहको घरझैं सजाइएको थियो भने घरभरी निम्तालुहरु जन्तीको पखाईमा थिए । केहिबेरपछि लमीले ओढाएको छाता ओढेर म्याथ्यू जन्तीसहित मार्लिनलाई लिन आए । म्याथ्यूको अघिअघि किस्तीमा सगुन बोकेका साईपाटाहरु थिए । जन्तीसहित म्याथ्यूको व्यग्र प्रतिक्षामा रहेकी मार्लिन जन्ती आएको देखेपछि खुशीले गद्गद् देखिन्थिन् ।

जन्तीलाई दुलही पक्षले पर्सिएर स्वागत गरे । केहिबेरपछि मार्लिन आफ्नै २२ वर्षिया छोरीको साथ लागेर आँगनमा देखापरिन् । अनि केहिबेर स्वयम्वर कार्यक्रम चल्यो । म्याथ्यू र मार्लिनले एकले अर्कालाई दुबोको माला पहि¥याई दिए । अनि औंठीपनि लगाईदिए र एकले अर्कालाई चुम्वनपनि गरे । केहिबेर बधाई ज्ञापन र फोटोसेसन चलेपछि विदाई कार्यक्रम चल्यो ।

म्याथ्यू दुलही मार्लिनलाई लिएर जन्तीसहित शेखर प्यालेस फर्किए । जहाँ दुलही भित्राउने र आफन्त चिनाउने कार्यक्रम भयो । त्यसपछि जन्तीलाई जन्तेबाख्रो खुवाएर वैवाहिक वर्षगाँठ कार्यक्रम समापन गरियो । विदाईको समयमा दुलही पक्ष भावविव्हल बने । स्वयसेवी शिक्षिका बनेर पोखरा बस्दा आफू बसेको घरवेटी राजबहादुर गुरुङ र उनका छोराहरु मार्लिनलाई छाँदहालेर रोए । मार्लिनलेपनि माईतीघर छाड्दा हुने पीरले आँशु झारिन् । आफ्नो श्रीमतीले मार्लिनलाई छोरी बनाएकाले आफूले मार्लिनलाई बुबा बनेर अन्माएको राजबहादुरले बताए । ‘श्रीमती ३ वर्ष अघि वितिन् । उनी नभएपनि मैले मार्लिनको बुबा बनेर अन्माउने मौका पाएँ, यो नै मेरो अहोभाग्य हो ।’

नेपाली परम्परा, संस्कार र संस्कृतिबाट प्रभावित म्याथ्यू दम्पतीले दश वर्षअघि गरेको वाचा अनुसार २५ औं विवाह वर्षगाँठ नेपाली परम्परा अनुसार गरेको म्याथ्यूका साथी तथा शेखर प्यालेसका सञ्चालक शेखर पगेनीले जानकारी दिए । उनका अनुसार वैवाहिक वर्षगाँठको अघिल्लो दिन विहीबार हल्दी र मेहन्दी कार्यक्रम चलेको थियो भने सेलरोटी पकाउने र कसार बाट्ने कार्यक्रमपनि गरिएको थियो ।

अष्ट्रेलियन नागरिक म्याथ्यू कोल र मार्लिनले सन १९९९ मा विवाह गरेका थिए । ईन्टरनेसनल यूथ होस्टलमार्फत पोखराको टप्स वोर्डिङ स्कुलमा स्वयमसेवी शिक्षिका रुपमा अध्यापन गर्न आएकी मार्लिन र नेपाल घुम्न आएका म्याथ्यूबीच जहाजमा भेट भयो । नेपालमा ६ महिने स्वयम्सेवी शिक्षिकाका रुपमा आएकी उनी विदा मनाउन अष्ट्रेलिया गएर फर्किने क्रममा म्याथ्यूसँग जहाजमा भेट भएपछि उनले नेपालको संस्कार, संस्कृति, प्रकृति र मायालु स्वाभावबारे बताए । पहिलो भेटमै एक अर्काप्रति आकर्षित भएपछि नेपालमा बस्ने क्रममा माया पिरती झाँगियो । त्यसको केहि समयमै उनीहरुले अष्ट्रेलियामा गएर क्रिश्चियन संस्कृति अनुसार विवाह गरे ।

पोखराको हिमाल, ताल र प्राकृतिक छटासँगै यहाँको संस्कार, संस्कृति र मायालु व्यवहारले यी दुई दम्पतीलाई मोहित बनायो । फलस्वरुप उनीहरु २÷३ वर्षको अन्तरालमा पोखरा आउने गर्छन् । दम्पती नेपाली संस्कृतिप्रति असाध्यै झुकाव राख्नेगरेको साथी शेखरले बताए । उनले वैवाहिक वर्षगाँठमात्र नभई छोराको अस्तुपनि मुक्तिनाथस्थित कागवेनीमा गएर सेलाएको जानकारी दिए । छोराको केहि वर्षअघि विसाक्त खानाका कारण ज्यान गएछ,उनले भने,‘अन्त्येष्टि पश्चात अस्तु ल्याएर कागवेनीमा सेलाए ।’

वैवाहिक वर्षगाँठ मनाउन कात्तिक १६ गते आफन्त र साथीभाईसहित २५ जनाको जम्बो टोली लिएर नेपाल आएका म्याथ्यू दम्पती अझै दुई हप्ता नेपालमै बस्नेछन् । पोखरामा एक हप्ता बसेर त्यसपछि चितवनको सौराहाहुँदै काठमाडौं फर्किने तयारी रहेको शेखरका छोरा मोहन पगेनीले जानकारी दिए । उनले नेपाली संस्कृति अनुसार विवाह, वैवाहिक वर्षगाँठ मनाउने परम्परा बसाल्न सके पोखराको पर्यटनले फड्को मार्ने बताए । यो शुरुवात हो,उनले भने,‘यसलाई कल्चरको रुपमा विकास गर्न पहल गर्नुपर्छ ।’

पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरि भुजेलले विदेशीले नेपाली संस्कार, संस्कृतिको अनुकरण गर्नु सराहनीय भएको बताए । यसलाई ब्राण्डिङ गर्नुपर्छ,उनले भने,‘यसले संस्कृतिसँगै पर्यटनको प्रवद्र्धन गर्छ । अनि अर्थतन्त्रपनि चलायमान गराउँछ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।