रवि अझै १५ दिन हिरासतमै रहने


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०८१ मा प्रकाशित




पोखरा, मंसिर ९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आईतबार अनुमति दिएको हो । रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको यो पाचौं पटक हो ।

यसअघि कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन, कात्तिक ८ गते ७ दिन, कात्तिक २० गते कात्तिक १५ गतेबाट लागु हुनेगरी १० दिन र कात्तिक २५ गते १३ दिन म्याद थप गरिएको थियो ।

कात्तिक २५ गते थपिएको म्याद शुक्रबार सकिएपछि आईतबार रविलाई अदालतमा उपस्थित गराइएको थियो । आईतबार न्यायाधीस हीमलाल बेलवासेको ईजलाशले १५ दिन म्याद थप गर्न आदेश दिएको अदालत श्रोतले जानकारी दिएको छ । उनीसँगै सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाईपनि १५ दिन नै म्याद थपेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापती लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको १ करोड उनकै नाममा लगेर पछि गोर्खा मिडियामा गाभेको तथा थप ५ करोड जिवी राईसँग मिलेर गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । त्यस्तै बुटवलको सुप्रिम सहकारीको १ करोड ९६ लाख आफ्नै नाममा लगेर सोहि मिडियामा गाभ्नुका साथै थप १४ करोड २९ लाखपनि लगेर अपचलन गरेको आरोप छ । यी दुबै सहकारीका बचतकर्ताले कास्की र रुपन्देहीमा लामिछानेसहित गोर्खा मिडियाका सञ्चालकहरु जिवी राई, छविलाल जोशी, कुमार रम्तेललगायतबिरुद्ध जाहेरी दिएका छन् । लामिछाने, रम्तेल, जोशी, पछाईलगायतलाई पक्राउ गरिएपनि मुख्य अभियुक्त जिवी राई भने हालसम्म फरार छन् ।

त्यस्तै चितवन र काठमाडौंमापनि लामिछानेबिरुद्ध पक्राउ पुर्जी जारी छ । चितवनको सहारा सहकारी र काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लामिछानेलगायत गोर्खा मिडिया नेटवर्कका सञ्चालकमाथि आरोप छ ।

उनीहरुलाई संसदको सहकारी छानविन समितिले सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै कारवाहीका लागि सिफारिस गरेको छ । छानविन समितिको सिफारिसका आधारमा प्रहरीले लामिछानेसहितका गोर्खा मिडियाका सञ्चालकहरुबिरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पती शुद्धिकरसम्बन्धि मुद्धामा अनुसन्धान जारी राखेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।