विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०८१ मा प्रकाशित




गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपर रहेका विभिन्न उन्नाइस स्थानमा पहिराको नक्शाङ्कन गरिएको छ । पहिराले मानवबस्ती, समुदाय, खेतीयोग्य जमिन तथा भौगोलिक रूपमा पुर्‍याउनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि नक्शाङ्कन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

गाउँपालिकाको पहलमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ०मार्फत पहिराले बढी क्षति पुर्‍याउनसक्ने स्थानको नक्शाङ्कन गरिएको उनको भनाइ छ । गाउँपालिकाले १९ स्थानका पहिराको नक्साङ्कनका लागि प्राथामिकीकरण गरेको थियो ।

पहिरोको नक्शाङ्कनले पहिरोबाट हुनसक्ने जोखिमको अनुमान गर्न सकिने भएकाले जोखिम न्यूनीकरण र रोकथामका लागि सजिलो हुने एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङग गुरुङले जानकारी दिए । ‘‘पहिरो नियन्त्रणको काम गर्नुअघि अवस्था पत्ता लगाउन सम्पूर्ण अध्ययन गरी नक्शाङ्कन गर्नुपर्छ, त्यसपछि मात्र पहिरोको सम्भावित जोखिम थाहा हुन्छ र जोखिम न्यूनीकरण गर्न सजिलो हुन्छ”, उनले भने ।

नक्शाङ्कन गर्दा पहिरोको भौगोलिक, भौर्गभिक अवस्था, पहिरो रहेको स्थानको माटो, ढुङ्गा र चट्टानको अवस्थाबारे अध्ययन गरिन्छ । नक्शाङ्कन गरिएका पहिरोग्रस्त क्षेत्रलाई जोखिमका आधारमा तीन भागमा विभाजन गरी नियन्त्रणका लागि योजना बनाउन सुझाव दिइएको गुरुङले बताए ।

गाउँपालिकाका वडा नं १, ३, ४, ५, ६ र ८ का बस्ती नजिक रहेको पहिरोको नक्शाङ्कन गरिएको हो । “नक्शाङ्कनबाट धेरै उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमका आधारमा छुट्याइएको छ”, उनले भने, “एघार स्थानका पहिरो थोरै बजेटमा पनि नियन्त्रण गर्न सकिने अवस्था छ ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।