सामाजिक सञ्जाल र अनलाईन मिडियामा अराजकता रहेकाले नियमनको तयारी भइरहेको छ : मन्त्री गुरुङ


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०८१ मा प्रकाशित




पोखरा, मंसिर १२

सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालका कारण समाजमा अराजकता बढेको बताएका छन् । रेडियो नेपालको आयोजनामा पोखरामा बुधबार आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले टिकटकलगायतका सामाजिक सञ्जालका कारण समाजमा अराजकता बढेको बताएका हुन् । दुर्गा प्रसाईंजस्ताको अभियानपनि त्यहि सामाजिक सञ्जालभित्रै रहेको बताउँदै उनले भने,‘यसले जताततै अराजकता फैलाएको छ । अहिले त शब्द÷शब्द, वाक्य÷वाक्यमा यति धेरै अराजकता बढेको छ कि भनिसाध्य छैन ।’ यसले जातिय विविधता भएको देशमा जाति–जाति बिचमा विभेद फैलाउने र साम्प्रदायिकता भड्काउने कामसमेत गरिरहेको टिप्पणी गरे ।

त्यसैले सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धि छिट्टै विधेयक ल्याउने बताए । सामाजिक सद्भाव नै खलबल्याउन लागेकाले यसको नियमन जरुरी रहेको जिकीर गर्दै उनले भने,‘त्यसैले सामाजिक सञ्जालको प्रयोग, सञ्चालन र नियमन गर्न आवश्यक रहेकाले यससम्बन्धि विधेयक छिट्टै ल्याउँदैछौं ।’ उनले राष्ट्रिय स्वाधिनता, एकता, स्वतन्त्रता, स्वाभिमानको प्रवद्र्धन गर्नुपर्ने बताए । त्यसका लागिपनि नियमन गर्नुपर्ने भन्दै उनले थपे,‘मिलेर बसेको देश जहाँ साँस्कृतिक सहअस्तित्व छ, जहाँ जातिय सहिष्णुता, जातिय र सामाजिक सद्भाव कायम भएर बसेको देशमा गलत काम हुन्छ भने यसको नियम हुनुपर्छ ।’ विधेयक आएपछि सामाजिक सञ्जालहरु युट्यूब, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा देखिने अराजकतालाई अन्त्य गर्दै अनुशासित बनाउन सहयोग पुग्छ ।’

मन्त्री गुरुङले अनलाइन मिडियामापनि अराजकता रहेको आरोप लगाए । अनलाईन मिडियालेपनि जथाभावी समाचार हाल्ने र प्रशारण गर्ने काम गरेर अराजकता मच्चाईरहेको उनको भनाई थियो । त्यसैले यसकोपनि नियमन गर्न जरुरी रहेको उनको भनाई छ । सञ्चारमाध्यमको नियमन गर्न प्रेस काउन्सिल भएपनि त्यो प्रभावकारी नहुँदा अनलाईन मिडियाले अराजकता मच्चाएको उनले टिप्पणी गरे । उनले भने,‘त्यो रोक्न प्रेस काउन्सिललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्छ । त्यसका लागि मिडिया काउन्सिल विधेयक ल्याउन लागेको छौं ।’ उनले मिडिया काउन्सिल विधेयक आगामी हिउँदे अधिवेशनबाट पारित हुने उनले विश्वास व्यक्त गरे ।
मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमहरु रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच यस वर्षभित्र शत प्रतिशत नेपालीमा पु¥याईने बताए । अहिले रेडियो नेपाल ९३ प्रतिशत र नेपाल टेलिभिजन ७२ प्रतिशत जनताको पहुँचमा पुगेको बताईन्छ । उनले रेडियो नेपाल सबैले सुन्ने राष्ट्रिय माध्यमको रुपमा विस्तार हुनुपर्ने बताए । त्यसका लागि संघ सरकारले मात्र नभई प्रदेश र स्थानिय तहहरुलेपनि सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

मन्त्री गुरुङले पोखरालाई आईटी हब बनाउन सकिने बताए । पोखरा पर्यटनको राजधानी भइसकेको छ,उनले भने,‘अब क्रमशः यसलाई आईटी हब, खेलकुद हबलगायतको रुपमा विकास गर्नुपर्छ ।’ उनले आईटीको विकास र बिस्तार गरेर आगामी वर्षमात्र ३ लाख रोजगारी सिर्जना गर्न सकिने बताए । यत्तिको रोजगारी उद्योग वा कृषिलगायतबाट एकै वर्षमा सिर्जना नहुने उनले दाबी गरे । यसले वैदेशिक पलायन र बेरोजगारीसमेत घटाउने उनको भनाई थियो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले रेडियो नेपालले अहिले २५ भाषामा समाचार तथा कार्यक्रम प्रसारण गरिरहेको बताए । उनले स्थानिय र प्रदेश सरकारले सहयोग गरेमा अन्य स्थानिय भाषामासमेत समाचार प्रशारण गर्न रेडियो नेपाल तयार रहेको उनले बताए ।

रेडियोका निर्देशक पुष्करराज गौतमले गण्डकीको गोरखामा रेडियो नेपालले नयाँ एफ.एम स्टेशन बनाएर प्रसारण थप विस्तार गर्ने तयारी गरेको उल्लेख गरे ।

अन्तक्र्रिया कार्यक्रममा अन्य सहभागी वक्ताहरुले रेडियो नेपालले जुन समुदायप्रति लक्षित गरेर प्रशारण गरेको कार्यक्रम र समाचार त्यो समुदायमा नपुगेको भन्दै ध्यानाकर्षण गराए । त्यसको सुधार गर्न उनीहरुले सुझावसमेत दिए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, रेडियो नेपाल पोखरा कार्यालयकी कार्यालय प्रमुख शान्ति गुरुङ, कार्यक्रम अधिकृत पुरुषोत्तम न्यौपानेलगायतले रेडियो नेपाललाई तीनै तहका सरकारले अपनत्व ग्रहण गरेर सहयोग गर्नुपर्नेमा जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।