आईटिएफ वल्र्ड टेनिस टुर जे–३० प्रतियोगिता पोखरामा भोलिदेखि हुने


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित




पोखरा, मंसिर १६

आइटीएफ वल्र्ड टेनिस टुर जे–३० पोखरा सर्किट १ र २ प्रतियोगिता भोलिदेखि पोखरामा शुरु हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा भोलिदेखि शुरु हुने प्रतियोगिता मंसिर २९ गतेसम्म जारी रहने आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

पहिलो सर्किटमा नेपालसहित १० देशका १०५ जना खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ७० पुरुष र ३५ महिलाले सहभागिता जनाउने आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष तथा कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा २२ जना विश्व वरियता प्राप्त खेलाडी, ६ जना क्वालिफायरमार्फत र ४ जना आयोजकको तर्फबाट गरेर ३२ जनाले मेन ड्र का लागि प्रतिष्पर्धा गर्नेछन् ।

१३ वर्षदेखि १८ वर्ष उमेर समुहमा हुने प्रतियोगिताका पुरुष तथा महिला दुबै तर्फका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्ने संघका प्रथम उपाध्यक्ष नवीन चालिसेले जानकारी दिए । त्यस्तै डबल्समा विजेताले २५ अंक, उपविजेताले १३ अंक, सेमी फाइनलिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्ने उनले बताए ।

पुरुष तथा महिला दुबैतर्फ सिंगल र डबल्स गरी ४ ईभेन्टमा प्रतिष्पर्धा हुने प्रतियोगिताका बिजेता र उपबिजेताले प्रमाणपत्र र मेडल प्राप्त गर्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

प्रतियोगिता नेपाली खेलाडीका लागि विश्व वरियतामा जाने र विदेशमा प्रतिष्पर्धाका लागि अवसर पाउने प्लेटफर्मका रुपमा विकास भइरहेको प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताए । उनले भने,‘नेपाली खेलाडी बाहिर देश गएर खेल्न महंगो हुन्छ । त्यसैले कतिपयले बिचमै खेल छाड्छन् । हामीले यहिं जे ३० खेलाउन थालेपछि उनीहरुका लागि यो प्लेटफर्म बनेको छ ।’

प्रतियोगिता सम्पन्न गर्न करीब २२ लाख खर्च लाग्ने संघका सचिव भीष्मराज पौडेलले जानकारी दिए । त्यसका लागि महानगरदेखि राखेपसम्मलाई गुहारेपनि सोंचेजति सहयोग नपाइएको संघका कोषाध्यक्ष विष्णु थापाले बताए । राखेपले १ लाख दिएको र त्यो एक लाख पानीका लागि मात्रैपनि नपुग्ने उनले गुनासो गरे । ‘तर महानगरबाट भने सहयोग पाउने आशा गरेका छौं’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।