पोखरा । आगामी मंसिरको अन्तिम साता पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुदै छ । कास्की जिल्ला गल्फ संघको पुर्नगठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको हो । प्रतियोगिता मंसिर २८ र २९ गते हुने छ ।
पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एकसय भन्दा बढी एमेच्योर गल्फरको सहभागिता हुने विश्वास गल्फ संघले लिएको छ । प्रतियोगिताको लागि काठमाडौं, धरान, चितवन, महोत्तरी लगायतका गल्फ क्लबका गल्फरको सहभागिता रहने कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले जानकारी दिए ।
प्रतियोगितामा टिम इभेण्ट पुरुष, पुरुष खुल्ला, महिला खुल्ला र यु—१६ गरी चार इभेण्टमा प्रतिस्पर्धा हुने छ । पहिलो दिन मंसिर २८ गते टिम इभेण्टको प्रतिस्पर्धा हुने छ । टिम इभेण्टमा दुई जना गल्फर रहने प्रावधान छ । पहिलो दिन बेटर बल(उत्कृष्ट स्कोर)को आधारमा विजेता घोषणा गरिने छ । विजेता, उपविजेता र तेस्रो स्थानमा रहने टिमलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।
दोस्रो दिन महिला तथा पुरुष र यु—१६ को इभेण्ट हुने छ । १८ होलको प्रतिस्पर्धा स्टेबलफोर्ड ३÷४ ह्याण्डीक्यापमा खेलाईने छ । उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्ने पुरुष तथा महिला एवं उमेर समूहको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने गल्फरलाई नगदसहित ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष भक्तराज गुरुङले जानकारी दिए ।
मन्थ्ली मेडल थापालाई
हिमालयन गल्फ क्लबले मासिक रुपमा आयोजना गर्ने मन्थ्ली मेडल गल्फ प्रतिस्पर्धामा नोभेम्बरको गल्फ मेडल गल्फर बलराम थापाले जितेका छन् । स्ट्रोक प्ले खेलाईएको खेलमा थापाले ७० स्कोरसहित उपाधि जिते ।
त्यसैगरी मेजर लक्ष्मीप्रसाद गुरुङ एक स्ट्रोकले पछि पर्दै उपविजेतामा चित्त बुझाए । मन्थ्ली मेडलमा २३ जना गल्फरको सहभागिता रहेको थियो । कास्की जिल्ला गल्फ संघका पूर्व सचिव ई.गोविन्द गौचनले पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा गत महिनाका विजेता जीवाराम गुरुङलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।