पोखरा, मंसिर १९
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आर्थिक अभावका कारण पोखरामा १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन नरोकिने बताएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानको निरीक्षणपछि पत्रकारसँग बोल्दै मन्त्री चौधरीले रकम अभावका कारण १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट खेलाउन नपाईने हो कि भन्ने चिन्ता नलिन पोखरेलीलाई आग्रह गरे ।
१९ वर्ष मुनिको महिला विश्वकप क्रिकेट सन २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रत्येक आयोजक राष्ट्रले कम्तिमा दुई वटा रंगशालामा खेल खेलाउनुपर्ने हुन्छ । नेपालले त्रिभूवन युनिभर्सिटी (टियू) मैदानलाई प्रमुख खेल मैदान बनाउने तयारी गरेको छ । अर्को खेल मैदानका रुपमा पहिलो रोजाईमा पोखरालाई बनाएको छ । त्यसैको प्रयास स्वरुप केहि दिनअघि आईसिसी र क्यानको टोलीले पोखरा क्रिकेट मैदानको निरीक्षण गरेको थियो । सो अवसरमा आईसिसी टोलीले पूर्वाधार निर्माण हुने हो भने पोखरामा केहि खेल खेलाउन सकिने प्रतिक्रिया दिइसकेको छ । तर पूर्वाधार निर्माण नभई यथास्थितिमा भने खेल खेलाउन नसकिनेपनि उसले स्पष्ट पारेको छ ।
आईसिसीको सो जवाफपछि खेलकुद मन्त्री चौधरी पोखरा आएको मौकामा पोखरा क्रिकेट मैदान निरीक्षण गरेपछि उनले भने,‘आर्थिक अभावले पोखरामा खेल खेलाउन रोकिदैन ।’ यसो भनिरहँदा उनले यसअघि नेपालमा १९ वर्ष मुनिको महिला क्रिकेट विश्वकप हुँदैछ भन्नेबारे आफूलाई जानकारी नै नभएको लुकाएनन् । उनले भने,‘आईसिसीको टोली नेपाल आएपछि मात्रै नेपालमा महिला विश्वकप हुँदैछ भन्ने मैले थाहा पाएँ । त्यसअघि मलाई योबारे जानकारी थिएन ।’ तर जानकारी पाएदेखि नै आफूले त्यसलाई गम्भीरतापूर्वक चासो दिएर हेरिरहेको उनको भनाई थियो । उनले पोखरा क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक रकम आगामी बजेटमा व्यवस्था गर्ने आश्वासन दिए । उनले भने,‘पूर्वाधार निर्माणका लागि कति रकम चाहिन्छ त्यसको स्टिमेट तयार गरेर पठाउनूस्, आगामी बजेटबाट त्यसलाई सम्बोधन गरिनेछ ।’ उनले पोखरा पर्यटनको उत्कृष्ट गन्तव्य भएको तथा पोखरामा खेल खेलाउनुपर्छ भन्ने पोखरेलीको उत्साह भएकाले यहाँ कुनैपनि हालतमा खेल खेलाउन आफूलेपनि पहल गर्ने बताए ।
मन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने बताए । दशैं राष्ट्रिय खेलकुदको मिति पटक÷पटक सरेका कारण हुने नहुने अन्यौलता छाइरहेको बेला उनले त्यसको मिति केहि दिन भित्रमा तोकिने उनले स्पष्ट पारे । ‘फागुन अन्तिम साता गर्ने तयारी भइरहेको छ । त्यसको मितिबारे केहि दिनमै निर्णय हुन्छ’–उनले भने ।
रंगशाला निरीक्षणका लागि मन्त्री चौधरीसँगै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, गण्डकी खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, सदस्यसचिव श्रीधर शर्मालगायत पुगेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।