पोखरा, मंसिर २०
पोखरामा ८४ वटा रुटहरुमा १ हजार २ सय ८६ वटा बस स्टप निर्माण गर्न एक अध्ययन प्रतिवेदनले सुझाएको छ । पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले पोखरा महानगरपालिका भित्र थप ३ स्थानमा बस टर्मिनलपनि निर्माण गर्न सुझाएको हो । पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय बीच भएको सम्झौता बमोजिम गठन गरिएको प्रतिवेदन अध्ययन टोलीले विहीबार पोखरा महानगरपालिका प्रमुख (मेयर) धनराज आचार्यलाई सो अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ ।
पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज, सरल र सर्वसुलभ बनाउने उद्देश्यले गठन भएको टोलीले बनाएको अध्ययन प्रतिवेदनले पोखराका कोरसिटी भित्र मुख्य ३ वटा रुट निर्माण गर्न भनेको छ । जस अनुसार पोखरा–६ लेकसाईडस्थित क्याम्पीङ्चोकदेखी पोखरा–१ बगरसम्म रुट बनाउन र सो रुटमा १९ वटा बस स्टप निर्माण गर्नुपर्ने औंल्याएको छ । त्यस्तै, पोखराको निर निवासदेखी शान्तिनगर चोकसम्मलाई अर्को रुट बनाएर त्यहाँ ११ वटा बस स्टप निर्माण गर्नुपर्ने भनेको छ । यसैगरी, पोखराको नुवारचोकदेखी महिमा किरानासम्म अर्को रुट बनाई त्यहाँ १८ वटा बस स्टप निर्माण गर्न प्रतिवेदनमा सुझाइएको छ ।
प्रतिवेदनले कुनैपनि रुटमा पर्ने बस स्टपमा लामो समय यात्रु कुर्न नपाउने र अहिलेजसरी जथाभावी यात्रु चढाउने र ओराल्न नपाउने नियम बनाउनपनि सुझाव दिएको छ । साथै पोखरामा चल्ने यातायातलाई डिजिटल प्रविधि अप्नाएर प्रविधीमैत्री बनाउनपनि भनेको छ ।
अध्ययन प्रतिवेदन अनुसार पोखराको यातायात प्रणाली व्यवस्थित गर्न कोरिया सरकारले परियोजनामार्फत १५ लाख अमेरिकी डलर पोखरा महानगरपालिकालाई उपलब्ध गराउनेछ । परियोजनाका लागि गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम कम्पनी लिमिटेडसहित विभिन्न दातृ निकायहरूले साझेदारी गरेर दिइने सो रकममध्ये करीब आधा रकम पहिलो चरणमा निर्माण हुने बस स्टप तथा बसहरुलाई डिजिटल बनाउने जडान गरिने मेसिनका लागि खर्च गरिने जनाइएको छ । बाँकी रकम पोखरा भित्रिने प्रमुख चोक पृथ्वीचोकलाई बिस्तार गर्न खर्चिने पोखरा महानगरपालिकाले जनाएको छ ।
परियोजना तीन चरणमा कार्यान्वयन गर्न प्रतिवेदनले नै सुझाएको छ । जस अनुसार पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम गर्न भनेको छ भने दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास र तेस्रो तथा अन्तिम चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्न भनेको छ ।
कोरियन अध्ययन टोलीले प्रतिवेदन कार्यान्वयन भएमा विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरा बन्ने विश्वस्त पारेको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गर्न सकिनेपनि औंल्याइएको छ ।
प्रतिवेदन बुझेपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनामार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरूलाई सहजता पुग्ने बताए । उनले भने,‘पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागिपनि परियोजना प्रभावकारी बन्नेछ भन्नेमा म विश्वस्त छु ।’
मेयर आचार्यले परियोजनाको पाइलोटिङ यही महिनाको अन्त्यबाट सुरु गरिने बताए । सो परियोजनाको स्थानिय व्यवस्थापन पोखरा महानगरपालिकाले गर्नेछ भने आवश्यक प्रविधि र उपकरणहरू कोरियालीले उपलब्ध गराउनेछ । पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटको ६ स्थानमा बस स्टपहरू निर्माण गरी परीक्षण गरिने मेयर आचार्यले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।