शसस्त्र प्रहरी बल आदर्श कपको फाइनलमा


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०८१ मा प्रकाशित




मंसिर २६ पोखरा । शसस्त्र प्रहरी बल गण्डकी प्रदेश कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा विहिवार भएको खेलमा सशस्त्र प्रहरीले गोर्खा फुटवल क्लबलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

सशस्त्रका सुजन तामाङले खेलको ७१औं मिनेटमा गोल गरेका थिए । उनको गोल नै शसस्त्रको जितमा निर्णायक बन्यो । विहिवार भएको खेलमा सशस्त्रका गोल किपर अजित कुमार बि क म्यान अफ द म्याच बने । उनले नगद ५ हजारसहित मेडल हात पारेका छन् । एन्फा गोर्खाको तर्फबाट वारम्वारको प्रयासलाई विफल बनाउन सफल भएकाले वि क छनोटमा परेका हुन् ।

यसैबीच शनिबार शसस्त्र प्रहरी बल गण्डकी र कास्की ११ का बीच फाइनल खेल हुने क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । कास्कीले बुधबार पेनाल्टी सुट आउटमा आयोजक आदर्शलाई ४–३ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

गण्डकी प्रदेशबाट ८ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

विधागत तर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ । ‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ मंसिर २२ देखी २९ गतेसम्म संचालित प्रतियोगिताको मुख्य प्रायोजक शौर्य सिमेन्ट रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।