पोखरा, पुस १
पोखराको सूर्य दर्शन सहकारी ठगी सम्बन्धि मुद्धामा ६५ जनालाई प्रतिवादी बनाउन कास्की प्रहरीले राय दिएको छ । उक्त सहकारी ठगी मुद्धामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने, सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जिवी)सहित ६५ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित सोमबार जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी श्यामबहादुर ओलीयाले जानकारी दिए । उनले भने,‘कास्कीमा अनुसन्धान सकेर ६५ जना प्रतिवादी बनाउन राय दिएका छौं । उनीहरुमध्ये ५१ जनाको नाम वतन खुलेको छ । बाँकी १४ जनाको नाम वतन खुलेको छैन ।’
प्रहरीले ती प्रतिवादीबिरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गर्नपनि राय दिएको छ । त्यस्तै, उनीहरुबिरुद्ध सहकारी ठगीसहित संगठित अपराध, तथा सम्पती शुद्धिकरण सम्बन्धी मुद्धा अभियोजन गर्न प्रहरीले राय दिएको उनले बताए । जिवी राईबिरुद्ध भने अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको भन्दै थप कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको निश्कर्ष छ ।
६५ जना प्रतिवादीमध्ये १९ जनाबिरुद्ध यसअघि नै अभियोजन भइसकेको छ । बाँकी प्रतिवादीमध्ये ३७ जना अझै फरार रहेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनपश्चात सरकारी वकीलको कार्यालयले उनीहरुबिरुद्ध मुद्धा चल्ने वा नचल्ने निर्णय गर्नेछ ।
मुद्धा चल्ने निर्णय भएमा उनीहरुबिरुद्ध पुरक अभियोजन लगिने जिल्ला अदालत कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले बताईन् । यसअघि १९ जनाबिरुद्ध अभियोजन भइसकेकाले बाँकीलाई पुरक अभियोजन गरिने उनको भनाई छ । उनका अनुसार प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन भइसकेको छैन । त्यसैले प्रतिवेदन अध्ययनका लागि थप समय आवश्यक पर्ने भएकाले रास्वपा सभापती तथा पूर्व गृहमन्त्री रबि लामिछानेलाई मंगलबार अदालतमा उपस्थित गराई म्याद थपका लागि माग गरिनेछ । म्याद नथपी अभियोजनबारे निर्णय गर्न सकिदैन,उनले भनिन्, ‘थपिएको समयमा अध्ययन गरेर मुद्धा चल्ने, नचल्ने निर्णय गर्छौं ।’
सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेकाहरुबिरुद्ध पुस ५ गतेभित्र प्रहरीले मुद्धा चलाईसक्नु पर्नेछ । संसदीय छानविन समितिले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलगायतलाई कारवाही गर्न सिफारिस गरेलगत्तै गत असोज ६ गते प्रहरीले रबि र जिवीका पार्टनर पूर्व डिआईजी छविलाल जोशीलाई पक्राउ गरेको थियो । रबिलाई कात्तिक २ गते पक्राउ गरिएपनि छविलाई पक्राउ गरेकै मितिले ९० दिन भित्रमा अभियोजन गरिसक्नुपर्ने भएकाले पुस ५ गतेभित्र त्यसबारे सरकारी वकीलको कार्यालय निश्कर्षमा पुगिसक्नुपर्नेछ । सरकारी वकीलको कार्यालयले पेश गरेको मुद्धाका आधारमा तथ्य हेरेर न्यायाधीसले रबि लामिछाने, छवीलाल जोशीलगायतलाई पुर्पक्षका लागि पठाउने वा धरौटीमा रिहा गर्न आदेश दिनेछन् ।
कास्कीमा मुद्धा नचल्ने निर्णय भएमा उनलाई तत्कालै पक्राउ गरेर अन्य जिल्लामा लैजाने तयारीमा प्रहरी छ । रबिबिरुद्ध कास्कीबाहेक रुपन्देही, चितवन, काठमाडौं र पर्सामासमेत पक्राउ पुर्जी जारी भई अनुसन्धान भइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।