पूर्वराष्ट्रपति भण्डारी स्याङ्जामा


     एभरेस्ट आवाज    
     पौष ५ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

वालिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ ।

कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि आज स्याङ्जा आइपुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जा र कास्कीको सिमाना फेदीखोलादेखि पुतलीबजार, भिरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीयलगायतले स्वागत गरेका हुन् ।

सडकमार्ग हुँदै त्यहाँ पुगेकी पूर्वराष्ट्रपति भण्डारीलाई जिल्लाका विभिन्न स्थानमा नागरिकले फूलमाला, बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए ।

भण्डारीले आज दिउँसो शाह वंशको कुलदेवताको रुपमा रहेको आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

“पूर्वराष्ट्रपति भण्डारी आलमदेवी मन्दिरमा पूजाआजा तथा यस ठाउँको अवलोकन गर्नका लागि आउनुभएको हो”, उनले भने, “नितान्त पूजाआजाका लागि आउनुभएकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।