पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध मुद्दा दायर


     एभरेस्ट आवाज    
     पौष ७ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

गण्डकी । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको जनाकारी दिए ।

पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको उनले ताए । यस्तै जोशीविरुद्ध रु ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताए । 

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा र  ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । 

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सभापति लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको बताए। सहकारी बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।रासस 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।