पोखरामा ल्होछार शुभकामना दौड प्रतियोगिता पुस १३ गते


     एभरेस्ट आवाज    
     पौष १२ गते २०८१ मा प्रकाशित




पोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा पुस १३ गते ल्होछार शुभकामना दौड प्रतियोगिता गर्ने भएको छ।

तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले विविध कार्यक्रम गरी आउदै गरेको सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार भव्यताका साथ मनाउने भएको छ ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय कार्यालयमा शुक्रवार सम्पन्न तमु समाजहरुसहितको बृहत बैठकले पुसको १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरी तमु ल्होछार मनाउने तयारीमा जुटेको हो।

मुह्री ल्हो(गिद्ध वर्ग)को विदाईसँगै सप्ह्री ल्हो(सर्प वर्ग) आगमनको अवसरमा पुस १३ गते पोखरामा बिहान ल्होछार शुभकामना सडक दौड प्रतियोगिता तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमा आयोजना गर्ने निर्णय गरिएको हो। सडक दौडमा १० किमी खुल्ला र अन्तर तमु समाज टिम इभेन्ट साथै ५ किमी दुरीको दौड महिला, भेट्रान्स र रन फर फन लगायतको दौड हुने भएको हो।

मुह्री ल्हो(गिद्ध वर्ग)को विदाईसँगै सप्ह्री ल्हो(सर्प वर्ग) आगमनको अवसरमा आयोजित दौड प्रतियोगिताको १० किमी खुल्लातर्फ प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ७ हजार र सान्त्वनाले ३ हजार, अन्तरसमाज टिम इभेन्ट बिजेताले २० हजार र रनिङ शिल्ड, दोस्रोले १५ हजार, तेस्रोले १० हजार रुपैयासहित पुरस्कृत हुने संयोजक चोकबहादुर गुरुङले जानकारी दिए।

यसरी नै ५ किमी महिला र भेट्रान्स इभेन्टसतर्फ प्रथमले ७र७ हजार, दोस्रोले ५र५ हजार, तेस्रोले ३र३ हजार र सान्त्वनाले २र२ हजार रुपैयासहित पुरस्कार प्राप्त हुने संयोजक गुरुङले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।