पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवहारिक र जीवनउपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । कास्कीको मादी गाउँपालिका वडा नं. ४ स्थित श्री ध्रुव माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले स्थानीय उत्पादनका विषयमा विद्यार्थीलाई समेत जानकारी हुनुपर्ने उल्लेख गरे ।
प्रदेश सरकारले शिक्षामा सुधार ल्याउन नयाँ कार्यक्रमहरु ल्याएको र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । “सिक्दै कमाउदै कमाउदै सिक्दै, फ्राइडे फर फ्युचर, अभिभावक शिक्षा जस्ता महत्वपूर्ण कार्यक्रमहरु शिक्षाको क्षेत्रमा प्रदेश सरकारले ल्याएको छ । यसको कार्यान्वयमा सबै विद्यालयहरु लाग्नुपर्ने छ । परिणाम आउने गरि नै यहाँहरुले उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन अनुरोध गर्दछु ।”, उनले भने ।
मन्त्री थापाले शिक्षामा सुधार ल्याउन मापदण्ड सरल र सहज बनाइने बताए । उनले स्थानीय पालिकाको सहकार्यमा नै शिक्षा क्षेत्रलाई सुदृढ बनाउन सकिने उल्लेख गरे ।
विद्यालयको शैक्षिक प्रगतिका विषयमा जानकारी गराउँदै प्रधानाध्यापक रामबाबु पौडेलले विद्यालयमा हाल १७० जना विद्यार्थी रहेको बताए ।
विद्यालयले स्थानीय स्रोत साधनको उपयोग गर्दै उत्पादनसँग पनि विद्यार्थीलाई जोडेको उनले उल्लेख गरे । विद्यालयमा खेलकुद मैदान र यातायातको समस्या भएको र त्यसको परिपूर्तिमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
विद्यालयका भूतपूर्व विद्यार्थी एवम् भूगर्भ विद डा. सोमनाथ सापकोटाले नेपालमा साइन्स पढ्ने वातावरण घट्दै गएको बताए । मादीको केन्द्रमा पालिका स्तरिय साइन्स क्याम्पसको आवश्यक रहेको भनाई उनको छ । शैक्षिक स्तरमा सुधार ल्याउन सबै सचेत हुनुपर्ने उनले उल्लेख गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







