पढ्नलाई उमेरले छेकेन ४४ वर्षीय परियारलाई


     एभरेस्ट आवाज    
     पौष १३ गते २०८१ मा प्रकाशित




पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाणित गर्नुभएको छ तनहुँको व्यास नगरपालिका–१४ केशवटार निवासी ४४ वर्षीय विश्व बुढा परियारले ।

विद्यालय छाडेको २५ वर्षपछि पुनः विद्यालय भर्ना भएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका बुढाले हालै मात्र कक्षा १२ उत्तीर्ण भई स्नातक तहमा भर्ना भएका छन । गत साउनमा कक्षा १२ मा २।९ जिपिए प्राप्त गरी उत्तीर्ण भएका बुढा मङ्सिर महिनामा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहमा भर्ना भएका हुन।

शिक्षा सङ्कायतर्फ अध्ययनरत उनले अरु विषयमा समस्या नभएपनि अङ्ग्रेजीमा केही समस्या बेहोर्नुपरेको बताए । उनले भने, “राम्रोसँग अध्ययन गरेर अङ्ग्रेजीमा पनि केही सुधार हुनेमा आशावादी छ ।”

पढाइलाई उच्च प्राथमिकता दिँदै बुढा दुई वर्ष अगाडि दमौलीस्थित बाल मन्दिर माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका थियो । व्यास–१४ स्थित केशवटार माध्यमिक विद्यालयमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाई छाडेका बूढाले सोही विद्यालयमा पुनः भर्ना भई एसइइ उत्तीर्ण गरेका थिए ।

परियारका छोराछोरी बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छन् । ठूलो छोरा शिवशङ्कर बूढा परियार हाल कक्षा ८ मा अध्ययनरत छन् । छोरी पूर्णिमा परियार कक्षा ६ अध्ययनरत छन् ।

छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लागेको सम्झिदै उनले भने, “त्यतिबेला हामी सबै एउटै विद्यालयमा पढ्थ्यौ, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्थ्यो ।”

नेपाल कराँते सङ्घ गोजो इकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयंसेवक प्रशिक्षकलाई अन्तरवार्ता दिन जानुभएको थियो । त्यतिबेला एसएसली उत्तीर्ण नगरेको भनेपनि उनी छनोट हुनसकेका थिएन । त्यही बेला उनलाई एसएलसी उत्तीर्ण नगरेकामा हिनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो ।

केशवटार माविका तत्कालिन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियारले बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित सङ्घ तनहुँको सचिव, सांस्कृतिक सङ्घ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराँते सङ्घ गोजो इकाईको प्रमुख प्रशिक्षक रहेका परियारले पिएचडी गर्ने लक्ष्य रहेको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।