क्यान्सरविरूद्धको थप पाँच लाख खोप ल्याइयो


     एभरेस्ट आवाज    
     पौष १५ गते २०८१ मा प्रकाशित




किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार आइतबार चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप ल्याइएको छ ।

सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ । उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ । यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने निर्देशक रायमाझीले जानकारी दिए ।

‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ ।

पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरूद्ध खोप लगाउनुपर्ने हुन्छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।