श्रीपती समाज सेवा पुरस्कारबाट डा.सन्दुक रुईत सम्मानित


     एभरेस्ट आवाज    
     पौष २० गते २०८१ मा प्रकाशित




पुस २० पोखरा । यस वर्षको श्रीपती समाज सेवा पुरस्कारबाट समाजसेवी डा.सन्दुक रुईत सम्मानित भएका छन् । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८१ बाट दृष्टिका देवता भनेर चिनिने म्यागासेसे पुरस्कार विजेता रुईत सम्मानित भएका हुन् । श्रीपति कोइराला गुठीले गुठीको ३२ औं वार्षिक साधारण सभाको अवसरमा शनिबार डा.रुईतलाई नगद २ लाख २२ हजार २ सय २२ राशीसहित दोषल्ला, सम्मान पत्र र पदकले सम्मानित गरिएको हो ।

सम्मानित डा.रुई तिल गंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी निर्देशक छन् । कम लागतमा मोतिया विन्दुको उपचारका लागि विश्वविख्यात चिकित्सा पद्धति रुईतेक्तोमिताका सुरुवातकर्ता समेत रहेका रुईतले हालसम्म १ लाख ३० हजार भन्दा बढी मोतिया विन्दुको शल्यक्रिया गरेर दृष्टि फर्काइसकेका छन् ।

बहराइन सरकारबाट दृष्टिका संवाहक उपाधिसहित ईशा अवार्ड पाएका रुईतले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, भारतको पद्मश्री पुरस्कार, फिलिपिन्सको रोमन म्यागासेसे पुरस्कार, थाइल्यान्ड, भुटानलगायतका पुरस्कार पाइसकेका छन् ।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई पुरस्कृत गरिसकिएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए ।

सम्मानपछि बोल्दै डा.रुईतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाजसेवाका लागि अभिप्रेरित गरेको बताए ।

त्यस्तै, सामाजिक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् । कार्कीले पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदर स्वरुप नगद २२ हजार २ सय २२ राशीसहित दोषल्ला र सम्मान पत्रले सम्मानित गरिएको हो ।

२०२९ सालमा राससबाट पत्रकारिता शुरु गरेका कार्कीले पत्रकारितामा पाँच दशक बिताईसकेका छन् । हाल उनी विविसी नेपाली सेवाको गण्डकी प्रदेश ब्यूरो प्रमुखका रुपमा कार्यरत छन् । यसअघि यो पुरस्कारबाट पोखराका पुराना पत्रकार कृष्णप्रसाद बास्तोला पुरस्कृत भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।