हरिदेवीको ‘चरीको घर’ र रीताको ‘बेरीतका रीतहरु’ सार्वजनिक, रीता न्यौपाने पहारीको अध्यक्षतामा स्रष्ट्रा समाज घोषणा


     एभरेस्ट आवाज    
     पौष २१ गते २०८१ मा प्रकाशित




पोखरा । साहित्यकार हरिदेवी कोइरालाको बाल कविता सञ्चयन “चरीको घर” र रीता न्यौपाने पहारीको निबन्ध सञ्चयन “बेरीतका रीतहरु” सार्बजनिक गरिएका छन् ।
नेपाल स्रष्टा समाजले पोखरामा शनिबार आयोजना गरेको कार्यक्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बरिष्ठ साहित्यकार सरुभक्त, कृतिकारलगायतले पुस्तकहरु सार्वजनिक गरे । कोइरालाको दशौं कृति “चरीको घर”मा पन्ध्र बालकविता छन् । आफ्ना गीतहरु पढेर बालबालिका समाज र संस्कृतिप्रति परिचित बनून् र समाज र संस्कृतिप्रति सम्मान जागृत होस् भन्ने अपेक्षा गरेको कवि कोइरालाले सुनाइन् । शिक्षणबाट सेवा निवृत्त कोइरालाले बालबालिकासँग बिताएको समयका अनुभूति पुस्तकका रहेको उल्लेख गरिन् ।

“मेरो जीवनको ऊर्जाशील समय बालबालिकासँग बित्यो । उनीहरुका मनोभावना, अनुभूति, मनोविज्ञान कवितामा उतार्ने कोशिष गरेकी छु,” उनले भनिन् । छ सयभन्दा बढी गीत बजारमा सकेकी लोकप्रिय गायिका कोइरालाको यो दोस्रो बालकृति हो ।
निबन्धकार पहारीको “बेरीतका रीतहरु” हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा २० निबन्ध सङ्गृहित छन् । निबन्धकार पहारीले जीवन भोगाई र देखिएका विविध पक्षलाई निबन्धको रुप दिएको उल्लेख गरिन् । उनको यो पहिलो कृति हो ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले पोखरामा बालसाहित्य र निबन्धको क्षेत्रमा नयाँ नयाँ सर्जकहरु देखिनु सन्तोषको कुरा भएको उल्लेख गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची” ले सर्जकहरुको सम्मान जीवनकालमै हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल संगीत नाट्य प्रतिष्ठानका पूर्वसदस्य सचिव तीर्थ श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, स्रष्टा समाजका संरक्षक पवन आलोक, साहित्यकार डा नवराज लम्साल, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, स्रष्टा समाजका प्रकाश घायल, साहित्यकारहरु पद्यराज ढकाल, लक्ष्मण थापा, दीनबन्धु शर्मा र विधान आचार्यले पनि बोलेका थिए ।

प्रदेश समिति गठन :
सो अवसरमा साहित्यकार रीता न्यौपाने पहारीको अध्यक्षतामा सात सदस्यीय नेपाल स्रष्ट्रा समाज गण्डकी प्रदेश समितिसमेत घोषणा गरिएको छ । सदस्यमा हरिदेवी कोइराला, पद्यराज ढकाल, दुर्गाबहादुर शाह बाबा, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद बास्तोला र सरस्वती श्रेष्ठ “सरु” छन् ।
कार्यक्रम स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”को अध्यक्षतामा भएको थियो ।

नेपाल स्रष्टा समाज नेपाली साहित्य र संस्कृतिको विकासमा क्रियाशील संस्था :

भाषा, साहित्य, कला र संस्कृतिलाई समाजका अभिन्न अङ्ग मान्दै, नेपाली साहित्य तथा नेपालका राष्ट्रिय भाषाका साहित्यको सिर्जना, सम्बर्द्धन र विकासमा योगदान पुर्‍याउने उद्देश्यले २०६४ पुस १६ (सन् २००७) मा नेपाल स्रष्टा समाज को स्थापना गरिएको हो।

नेपाल सरकारबाट स्वीकृत यो संस्था मुनाफारहित, समावेशी, र गैरराजनीतिक चरित्रको विशुद्ध स्वयमसेवी साहित्यिक संस्था हो।

नेपाल स्रष्टा समाजको संरचना र विस्तार

हाल समाजमा २६६ आजीवन विशिष्ट सदस्य र ३१ विशिष्ट सदस्य छन्। सातै प्रदेशमा प्रादेशिक समितिहरूको गठन कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यसले नेपाली साहित्यको विकास र विस्तारलाई देशव्यापी बनाउँदै लैजाने विश्वास गरिएको छ।

नेपाल स्रष्टा समाजका उद्देश्यहरू

१) नेपाली वाङ्मयको सम्बर्द्धन र विकास
साहित्यिक सिर्जना र गतिविधिहरूलाई प्रोत्साहन गर्दै नेपाली भाषाको साहित्यलाई समृद्ध बनाउने।

२) अन्तर्राष्ट्रियकरणको प्रयास
नेपाली र अन्य राष्ट्रिय भाषाका साहित्यलाई अनुवादका माध्यमबाट विश्वस्तरमा पुर्‍याउने।

३) साहित्यिक आदानप्रदान र सम्बन्ध विस्तार
अन्तर्राष्ट्रिय क्षेत्रका स्रष्टाहरूसँग सम्पर्क र सम्बन्ध बढाई साहित्यिक आदानप्रदान कार्यक्रम गर्ने।

४) राजधानी र मोफसलका स्रष्टाहरूलाई जोड्ने
नेपालभरका स्रष्टाहरू तथा साहित्यिक संस्थाहरूबीच सहकार्य र समन्वय गर्दै सेतुको काम गर्ने।

५) अनुसन्धानात्मक र सिर्जनात्मक कार्यक्रम
अनुसन्धानात्मक कार्य, गोष्ठी, सभा, सम्मेलन, र अन्तर्क्रिया कार्यक्रमको आयोजना।

६) पुस्तकालय र प्रकाशनको प्रवर्द्धन
पुस्तकालयहरूको स्थापना र विकासमा सहयोग पुर्‍याउने।

७) साहित्यिक पत्रिका प्रकाशन
स्रष्टा दर्पण नामक अर्धवार्षिक पत्रिकाको प्रकाशन, जसले ३१ अङ्क प्रकाशन पूरा गरिसकेको छ।

८) पुरस्कार र प्रोत्साहन
अग्रज स्रष्टाहरूलाई सम्मान तथा नव प्रतिभालाई प्रोत्साहन गर्ने।

साहित्यिक पत्रिका : स्रष्टा दर्पण

नेपाल स्रष्टा समाजले स्रष्टा दर्पण नामक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशित गर्दै आएको छ। यस पत्रिकाले नेपाली साहित्यिक गतिविधिहरूलाई संकलन र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

समाजका वर्तमान पदाधिकारी (२०७५–२०८१) :
अध्यक्ष : श्रीओम श्रेष्ठ ‘रोदन’
उपाध्यक्ष : चेतनाथ कणेल ‘हरित’
महासचिव : देविका तिमिल्सिना
कोषाध्यक्ष : तारा सुवेदी
सचिब : प्रकाश घायल
सदस्यहरु : शंकर भारती, डा. शान्तिमाया गिरी, रन्जना निरौला, मधु पाठक, माधव बिडारी ‘चेतनपथ’, डा। सदानन्द कडेल, पवन आलोक
सल्लाहकारहरू : नगेन्द्रराज शर्मा, रमा विधान आचार्य शर्मा, शैलेन्द्र साकार, चन्द्रप्रसाद भट्टराई

नेपाल स्रष्टा समाजको योगदान :

नेपाल स्रष्टा समाजले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भाषाहरूको प्रवर्द्धन, र साहित्यिक अनुसन्धानात्मक गतिविधिहरूमा उल्लेखनीय योगदान पुर्‍याएको छ। राजधानी र मोफसलका स्रष्टाबीच सेतुको रूपमा क्रियाशील रहँदै समाजले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरिरहेको छ।

यो संस्था नेपाली भाषा र साहित्यको विश्वव्यापी प्रवर्द्धनका लागि महत्वपूर्ण संस्था बनेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।