
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।