
फाइल तस्विर
पुस २८ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको हो । आज थुनछेक बहस नभएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो । प्रहरी स्रोतका अनुसार रविलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिनेछ ।
“काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भयो,” काठमाडौँ अदालतमा स्रेस्तेदार रामु शर्माले भने, “भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।”
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।