पोखरामा सामुहिक इही कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा नेवार कन्याहरुको सामुहिक इही अर्थात बेलविवाह सम्पन्न भएको छ । पोखरामा यही माघ २ गतेदेखि ५ गतेसम्म सामुहिक इही, चतुर्थी कार्यक्रम लगायतका गतिविधि गरिएको हो ।

नयाँ बजारस्थित सेतीगंगा टोल विकास संस्थाको भवनमा सम्पन्न कार्यक्रममा पोखराका विभिन्न ठाउँका ३ वर्षदेखि १३ वर्षसम्मका बालबालिका सहभागि भएको कार्यक्रमका सहजकर्ता सुनिल उलकले जानकारी दिए ।

३ दिने कार्यक्रम अन्र्तगत गत विहीबार र शुक्रबार दुई दिने इही र शनिबार चतुर्थी कार्यक्रम सञ्चालन भएको उलकले बताए ।
उनले भने, ‘नेवारी समुदायमा बालिकाहरुको बेल विवाह गरिदिने प्रचलन छ । परम्परा धान्नका लागि मात्र नभएर यसको आफ्नै विशेष महत्व पनि छ । तिन बर्षदेखि माथि एघार बर्षसम्मका बालिकाहरुको बेल विवाह गरिदिने प्रचलन छ । तर यसपटकको कार्यक्रममा सहभागी कन्याहरु ३ वर्ष देखि १३ वर्षसम्मका थिए ।’

उनका अनुसार नेवार कन्याहरूको महिनावारी हुनु अघिनै बेलसंग विवाह भइसक्नु पर्ने धार्मिक परम्परा छ । छोरीको बेलविवाह र छोराको व्रतबन्ध अनिवार्य गर्नैपर्ने नेवार समुदायको मान्यता छ । बेल जडीबुटीमध्ये श्रेष्ठ प्रजाति हो । बेलविवाहमा बेललाई स्वर्णकुमार मानेर बालिकाको विवाह गराई दिनुलाई अगाध प्रकृतिप्रेमको रूपमा लिन सकिन्छ ।

पोखरा बेसीमा रहेको लाभिन रेसिडेन्सियल सेकेण्डरी स्कुल तथा लिटल लर्नर्स मोन्टेसरीका संस्थापक दिपु भारीको आर्थिक सहयोग सम्पन्न भएको कार्यक्रममा कन्याका साथै सहभागी परिवारका सदस्यहरुलाई निःशुल्क भोजन पुजामा आवश्यक पर्सी, कुम्हः का, सालाःपा, बेल, मोकी लगायतका पूजा सामग्री समेत निशुल्क उपलब्ध रहेको थियो ।

आगामी वर्षदेखि गरिव तथा विपन्न वर्गका लागि एक हजार रुपैयाँमा नै गर्ने गरि तयारी गरिरहेको कार्यक्रमका सहजकर्ता उलकले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।