२४औं सशस्त्र प्रहरी दिवसमा गण्डकी प्रदेशबाट पाँच व्यक्तित्व सम्मानित


     एभरेस्ट आवाज    
     माघ ९ गते २०८१ मा प्रकाशित




माघ ९, पोखरा ।
सशस्त्र प्रहरी बलले बुधबार २४ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ । विपद् प्रतिकार्य, सामुदायिक सुरक्षा, सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि र सामाजिक कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको योगदानलाई सम्मानित गरिएको बाहिनीले जनाएको छ ।

सशस्त्र प्रहरी बलले पोखराका मेयर धनराज आचार्यलाई कालिका गण, कास्कीको विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा पुर्‍याएको योगदानका लागि सम्मानित गरेको छ। मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनलाई सामाजिक कार्यमा पुर्‍याएको योगदानका कारण सम्मानित गरेको छ। पोखरा भ्यालिटेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रवन्धक विष्णु बहादुर लामिछानेलाई सशस्त्र प्रहरीको प्राविधिक क्षमता अभिवृद्धिमा गरेको योगदानका लागि सम्मान गरेको छ।

सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ र पत्रकार प्रतीक्षा काफ्लेलाई सामुदायिक सुरक्षा सचेतना र सशस्त्र प्रहरीको उद्धार कार्यमा पुर्‍याएको योगदानका कारण सम्मान गरेको छ। उनीहरूले समाचारका माध्यमबाट जनता र सशस्त्र प्रहरी बीचको सम्बन्ध सुमधुर बनाउन उत्कृष्ट भूमिका निर्वाह गर्नुका साथै विपद प्रतिकार्य एवं उध्दार खवर संकलन तथा प्रकाशन गरि संगठनको छवि उच्च पारेको जनाइएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र आपतकालीन उद्धार कार्यका लागि गरेको योगदानलाई कदर गर्दै समाज र सुरक्षा बल बीचको सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको बताएको छ।

उध्दारकहरुको घरका रुपमा चर्चित सशस्त्र प्रहरी बल नेपालको पोखरा मालेपाटनस्थित कालिका गण काठमाडौ उपत्यका बाहिरका गणहरु मध्ये कार्यसम्पादनमा यो बर्षकै उत्कृष्ट गण हुन सफल भएको छ भने नेपालभरमा पाँचौं भएको छ। अङ्कभारमा काठमाडौ उपत्यका भित्र रहेका चार वटा गणहरु कालिका गण भन्दा अगाडि रहेका छन् र ललितपुरको दक्षिणकाली गण सर्वोत्कृष्ट भएको छ।

सशस्त्र प्रहरी बलको विपद प्रतिकार्य क्षमता अभिवृद्धिमा अतुलनीय योगदान पुर्‍याएकोमा तथा समाजमा संगठनको मानप्रतिष्ठा उच्च पारेकोमा कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले प्रतिष्ठित एपिएफ आईजी कमेण्डेसन मेडल प्राप्त गरेका छन। त्यसै गरि अन्तरनिकाय समन्वयमा राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप- अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी समेत प्रतिष्ठित एपिएफ आईजी कमेण्डेसन मेडलबाट सम्मानित भएका छन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।