३ बुँदे सहमतीपछि पोखरा महानगरमा कांग्रेसले लगाएको ताला खुल्यो


     एभरेस्ट आवाज    
     माघ ९ गते २०८१ मा प्रकाशित




पोखरा, माघ ९

कांग्रेस जनप्रतिनिसँग सहमति भएपछि पोखरा महानगरपालिकामा लागेको ताला खुलेको छ । गणपुरक संख्या पुग्दापनि नगर सभा स्थगित गरेको विरोधमा कांग्रेसले महानगरमा लगाएको ताला सहमतिपछि खुलेको हो । एमालेले नगर सभा बहिस्कार गरेपछि पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले नगर सभा स्थगित गरेका थिए । त्यहि विषयमा कांग्रेस जनप्रतिनिधिहरुले मेयर आचार्यको कार्यालयसँगै उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको कार्यकक्षमा ताला लगाएको थियो ।

तर मंगलबार कांग्रेस जनप्रतिनिधि र मेयर आचार्य, उपमेयर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत चौलागाईंसहितको टोलीसँग कांग्रेस जनप्रतिनिधिको टोलीले गरेको वार्तामा ३ बुँदे सहमति भएपछि ताला खोल्ने निर्णय भएको नेपाली कांग्रेस पोखरा महानगरपालिका संसदीय दलका नेता दीवसमान प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार सहमतिसँगै मंगलबार नै प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।

त्यस्तै, चालु १६ औं नगर सभा यहि माघ ११ गते बोलाउने सहमति भएको छ । सहमति अनुसार आगामी शुक्रबार दिउँसो १ बजे नगरसभा बोलाउने निर्णय भएको प्रधानाङ्गले जानकारी दिए । गणपुरक संख्याभन्दा बढी १५२ जनाले हस्ताक्षर गरिसकेको अवस्थामा नगर सभा बिना कारण स्थगित गरिएको थियो,उनले भने,‘हामीले त्यसको विरोधमा ताला लगाएका थियौं तर हाम्रो माग अनुसार नगर सभा बोलाउने सहमति भएपछि ताला खोल्ने निर्णय गरेका हौं ।’

यसैगरी, आगामी नगर सभाबाट महानगर, वडा र महाशाखाका योजनाहरुको शिर्षकान्तर र बजेट रकमान्तर गर्ने सहमतिपनि भएको छ । योजनाको शिर्षकान्तर र बजेट रकमान्तर नहुँदा पूर्वाधार विकास तथा अन्य कार्यहरु ठप्प भएकाले यस्तो सहमति गरिएको उनले बताए ।

त्यस्तै, यसअघि विशेष नगर सभामार्फत पापिरत ७ बुँदे सहमति अक्षरश पालना गर्नेपनि सहमति भएको छ । यसअघि नगरसभाले पारित गरेको सो सहमति कार्यान्वयन नभएको भन्दै मेयर आचार्यसँग कांग्रेस असन्तुष्ट थियो । तर सहमतिपछि सबैले महानगरको सुशासन र समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अगाडि बढ्ने सहमति भएको जारी सहमति पत्रमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।