शहरी गुरिल्ला टिम (STF) का पूर्व कमान्डरहरूको भेला चितवनमा सम्पन्न, बेपत्ता योद्धाहरूको अवस्थाबारे सरकारलाई स्पष्ट पार्न आग्रह


     एभरेस्ट आवाज    
     माघ १६ गते २०८१ मा प्रकाशित




पोखरा । चितवनको सौराहामा शहरी गुरिल्ला टिम (STF) का तत्कालीन कमान्डरहरूको तीन दिने दोस्रो विशेष भेला भव्य रूपमा सम्पन्न भएको छ। तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालन गरिएको जनयुद्धका क्रममा शहरमा सञ्चालन गरिएका फौजी कारबाहीको विशेष नेतृत्व गर्ने यो टिमका पूर्व सदस्यहरूको भेलाले महत्वपूर्ण निर्णयहरू गर्दै सार्वजनिक अपिल जारी गरेको छ।

भेलाले तत्कालीन समयमा पोखराको STF को कमान्ड सम्हालेका कमान्डर शसक्त शरण गोले (अभिषेक) को नेतृत्वमा सम्मेलन आयोजक समिति गठन गरेको छ। यो समितिको संयोजन कास्कीका धीरज राना र किरण थापा आमोदले गर्ने भएका छन् भने रुपन्देहीमा सुजित विक, चितवनमा लक्ष्मी ढकाल, र काठमाडौंमा सुरेन्द्र भुजेल ‘अन्जान’ ले जिम्मेवारी सम्हाल्ने छन्। साथै, समितिको सदस्य सचिवको रूपमा संगठन संयोजनको कार्य राजु छेत्रीले गर्ने भेलाले निर्णय गरेको छ।

भेलाले तत्कालीन जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको अवस्था अझै सार्वजनिक नभएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै सरकारसँग उनीहरूको अवस्था सार्वजनिक गर्न माग गरेको छ। साथै, जनयुद्धपछिको राजनीतिक परिवर्तनसँगै विभिन्न मोर्चामा रहेका माओवादी घटकहरूबीचको विभाजनलाई अन्त्य गर्दै समाजवादी आन्दोलनलाई बलियो बनाउन एकताबद्ध हुन अपिल गरिएको छ।

कमाण्डर शसक्त शरण गोले (अभिषेक) द्वारा जारी विज्ञप्तिमा माओवादी आन्दोलनका सम्पूर्ण घटकहरूबीच एकताको आवश्यकता औंल्याइँदै, समाजवादी आन्दोलनलाई सशक्त बनाउन सबै माओवादी शक्तिहरू एकै ठाउँमा आउनुपर्ने माग गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।