घरेलु फुटबलबाट सन्यास लिने अनु लामाको घोषणा


     एभरेस्ट आवाज    
     माघ १६ गते २०८१ मा प्रकाशित




माघ १६ काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट आज सन्यासको घोषणा गरेकी छन् । करिब ६ वर्षअघि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिइसक्नुभएकी ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् ।

आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न एन्फा महिला लिग फुटबलको फाइनल खेलमा उनले एक गोल गरेकी थिइन् । उनकोे टिम एपिएफले नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जितेको छ ।

एपिएफका खेलाडीले उनलाई गार्ड अफ द अनरबाट सम्मान गर्दै बिदाइ गरेको छ । अनुले सन् २०१० मा बङ्गलादेशविरुद्ध दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली यु–२३ टोलीमा डेब्यू गरेकी थिइन् ।

अनुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदशन गरेकी थिइन् । उनले साफ च्याम्पियनसीप लगायतका विभिन्न प्रतियोगितामा राष्ट्रिय जर्सीबाट ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।