
पोखरा, माघ १९
विद्यार्थीमा साहित्यको चेतना र पठनशैली विकास गराउने उद्देश्य सहित पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला आयोजना गरिएको छ ।
त्यससँगै विद्यालयमा यसअघि अध्ययनरत विद्यार्थीको भेटघाट पनि गरिएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभाबाट विद्यालयतहको अध्ययन सकेका पूर्व विद्यार्थीको भेटघाटसँगै साहित्य, कला र संगीतलाई एकैठाउँमा जमघट गराएको बताए । कार्यक्रमको साहित्यकार तीर्थ श्रेष्ठले उद्घाटन गरेका थिए ।

सापकोटाका अनुसार प्रतिभा मावि २०४३ सालमा स्थापना भएको थियो । त्यसपछि विद्यालयतहमा अध्ययन गरेका विद्यार्थीको भेटघाट भएको थिएन । उनीहरुलाई एकैठाउँमा भेला गराएर विद्यालयमा अध्ययनरत रहँदाको दिनलाई स्मरण गराउँदै साहित्य, कला र संगीतमा जमघट गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
‘विद्यालयमा अध्ययनरत रहँदाको अनुुभव साट्नका लागि अल्मुनाईमार्फत जमघट गरिएको छ । एउटै विद्यालमा पढेर हाल विभिन्न ठाउँमा पुगेको अवस्थामा पनि पूर्व विद्यार्थीलाई जमघट गराउने अवसर जुटेको छ,’ उनले भने । त्यसबाहेक कवि तीर्थ श्रेष्ठसँग साहित्यिक छलफल गरिएको थियो । उक्त कार्यक्रममा पुस्तक र चित्रकला प्रदर्शनी र सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । त्यसैगरि चित्रकार सुनिल मर्सानीलाई पनि त्यही अवसरमा सम्मान गरिएको थियो । विद्यार्थी आफैले कोरेका चित्र उक्त कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो ।
त्यसैगरि यसअघि विद्यालयमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा उत्कृष्ट भएको प्रविधिलाई पनि उक्त प्रदर्शनीमा राखिएको थियो ।
‘विद्यार्थीको सिर्जना, रचना र सिर्जनामार्फत पस्केको सपना देखाउने अवसर यो कार्यक्रमले जुटाएको छ,’ प्राचार्य सापकोटाले भने, ‘यसले विद्यार्थीमा रहेको अन्तरनिहीन क्षमतालाई बाहिर ल्याउनेछ भने अरु विद्यार्थीमा पनि कला र संस्कृतिको ज्ञान पस्कनेछ ।’ एल्मुुनाईमार्फत विद्यार्थीलाई पहिलेका दिनमा फर्काउने प्रयास गरेको उनले बताए । ‘साहित्य मेलामार्फत पठनशैलीको विकास गर्ने प्रयास पनि गरेका छौ । पछिल्लो पुस्ता पुस्तक पठनमा केही पछाडि परेको अवस्थामा यस्ता गतिविधिले उनीहरुमा पढ्ने शैलीको विकास हुने अपेक्षा छ,’ प्राचार्य सापकोटाले भने । कार्यक्रममा विद्यालयका लागि तयार पारिएको गीत पनि उक्त अवसरमा सार्वजनिक गरिएको थियो ।
उक्त अवसरमा पोखरेली साहित्यकार तीर्थ श्रेष्ठसँग लेखक समेत रहेका जीवनसागर भण्डारीले साहित्यिक छलफल गरेका थिए । भण्डारीसँग गफिँदै कवी श्रेष्ठले विद्यार्थीको जीवनबारे अनुभव साटेका थिए । आफुले पोखरामा रहेर विद्यालयमा पढ्दा र अहिलेको शिक्षाबारे अनुभव साटेका थिए ।
‘हामी स्कुल जाँदा गुन्द्री लिएर जान्थ्यौ, विद्यालयमा कक्षा कोठा थिएनन । खुला आकाशमुनि रहेर पढ्नु पर्दथ्यो । त्यस्तो बेला पानी पर्दा र हावाहुरी चल्दा स्कुल नै बिदा हुन्थ्यो,’ साहित्यकार श्रेष्ठले आफ्नो स्कुले अनुभव साटे, ‘अहिलेका विद्यार्थीका लागि ती कुरा सुुन्दा पनि नौलो लाग्छ । तर, हाम्रो पालामा अध्ययन निकै नै सकसपूर्ण थियो ।’
उनका भनाईमा विद्यार्थी विरुवा हुन, ती विरुवालाई अभिभावकले घाम, शिक्षकले पानी र समाजले हावा दिएमा मात्र पूर्णता पाउँछन् । ‘अभिभावक स्वयं पनि शिक्षक नै हुन् । त्यही भएर विद्यार्थीका लागि अभिभावक, शिक्षक र समाज सबै क्षेत्र आवश्यक पर्छ,’ उनले भने, ‘कुनै एउटा क्षेत्रको मात्र अभावमा विद्यार्थीले फक्रने गतिलो मौसम पाउँदैन ।’
विद्यार्थीलाई एकपटक असफल हुँदैमा सधैंको असफल नहुने पनि उनले बताए । ‘एकपटक असफल हुँदैमा सफलताको यात्रा सकिन्न । असफलताबाट पाठ पढ्दै अघि बढेमा पक्कै पनि सफल भइन्छ,’ श्रेष्ठले भने, ‘एकपटकको असफलताबाट आत्तिनु हुँदैन ।’ उनले विद्यार्थीको सीकाई पाठ्यपुस्तकमा मात्र निर्भर रहन नहुने पनि बताए । ‘किताब पढेर मात्र विद्यार्थीको सिकाइ पुरा हुँदैन । विद्यार्थीले संस्कार पनि सिक्नुपर्छ । संस्कार सिक्नका लागि संगत पनि राम्रो हुनुपर्छ,’ श्रेष्ठले भने, ‘विद्यार्थीका लागि सधैंको संघर्ष आवश्यक पर्छ । संघर्षबिना सफलता हात पार्न मुस्किल हुन्छ ।’
विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीका फरक कार्यक्रम पस्कने क्रममा साहित्य, संगीत र कलालाई समेटेर कार्यक्रम आयोजना गरेको बताए । ‘विद्यार्थीको रुची फरक फरक हुन्छ । कतिपयले साहित्यलाई रुचाउँछन, केहीले कला र कतिपयले संगीतलाई । त्यसबाहेक विद्यार्थीमा पठन शैली विकास गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्छन,’ पौडेलले भने, ‘फरक शैलीमा कार्यक्रम पस्कने क्रममा यो पटक साहित्य, कला र संगीतलाई समेटेका छौ ।’
पाठ्यपुस्तक बाहेक बाह्य ज्ञान दिलाउन यस्ता कार्यक्रम आवश्यक रहेको उनले बताए । आगामि दिनमा पनि विद्यालयले यस्तै कार्यक्रमलाई निरन्तरता दिइरहने उनले बताए । उक्त अवसरमा कविता बाचन सहित सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।