
वडा स्तरिय कृषि संजाल वडा नं ८ ले वर्षे तरकारी बालीको बिउ वितरण गरेको छ ।
वडा स्तरिय कृषि संजाल वडा नं ८ को आयोजनामा पोखरा महानगर पालिका वडा नं ८ को सहयोगमा वडाका २१ टोलका करिब एघार सय घरधुरी लाई वर्षे तरकारी बालीको बिउ वितरण गरिएको कार्यक्रम संयोजक साबित्री घिमिरेले जानकारी दिइन। संजालले सिमी , मिटर बोडी ,काक्रो , घिरौला भिन्डी, लौका लगाएत वर्षे तरकारी बालीको बिउ वितरण गरेको हो ।
एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा छनोट भएका पाँच जना इन्टेग्रिटी आइकन मध्ये पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियालाई संजालले बधाई तथा सम्मान व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख कडरियाले वातावरणीय दृष्टिकोणबाट हेर्दा कुहिने फोहोर व्यवस्थापन र हरियाली निर्माणमा समेत कौसीखेती महत्वपूर्ण मानिने बताए। उनले भने , “यसलाई वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्दै हरेक घरमा यसको महत्व बुझाउन सके स्वस्थ्य जीवनयापनका लागि निकै राम्रो हुन्छ ।”

“महानगरबाट भइरहेका कौसीखेती प्रवद्र्धनका कार्यक्रम राम्रा छन् । यसलाई वृहत रुपमा लान सके यसले वातावरण स्वच्छता जोगाउन र अर्गानिक तरकारीले स्वस्थ्य जीवनमा सहयोग पुर्याउँछ”, कडरियाले भने ।
कार्यक्रमा बोल्दै पोखरा वडा अध्यक्ष रुद्रनाथ बरालले कौसीखेती आयआर्जनसँगै सरसफाइसँग पनि जोडिएको बताए । बढ्दो सहरीकरणमा हुनसक्ने प्रदूषण र उत्सर्जन हुने फोहोरलाई सरल तरिकाले व्यवस्थापन गर्न कौसीखेती प्रभावकारी माध्यम भएको उनको भनाइ छ । पोखरामा फोहोर व्यवस्थापनलाई कौसी करेसा खेतीले सहयोग गरेको बताए । कौसी करेसा खेतीले पोखराको फोहोर व्यवस्थापनलाई र आर्थिक विकासमा महत्वपुर्ण टेवा पुगेको बताए ।

कार्यक्रमा सम्पुर्ण टोलको प्रतिनिधित्व गदै पार्वती पौडेल,संजालका तर्फ बाट शारदा गिरी र वडा सदस्य लक्ष्मी वि.क.ले समेत बोलेका थिए ।
संजालका संयोजक साबित्री घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संजालका सहसंयोजक दुर्गा अधिकारी र सञ्चालन संजालका सचिव कुलमाया क्षेत्रीले गरिन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।