गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना


     एभरेस्ट आवाज    
     माघ २२ गते २०८१ मा प्रकाशित




गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढेको बताए ।

प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेशका अवसरमा आज प्रदेशवासीमा शुभकामना सन्देश दिँदै उनले प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु लोकतन्त्र र सुशासनलाई स्थापित गरेको उल्लेख गरेका हुन ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताए । गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को सङ्कल्प पूरा गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ । सङ्घीयताको मर्मअनुसार समावेशी, दिगो र समान विकासलाई अघि बढाउँदै नागरिकलाई चुस्त सेवा प्रवाह, सुशासनको अनुभूति दिलाउन सामूहिक प्रयास जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

“भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्य भेट्टाउने दिशामा सरकारले आफ्ना नीति, कार्यक्रम सञ्चालन गरिरहेको छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।