टोल विकास संस्थालाई डस्टबिन र कम्पोस्ट मल बिन वितरण


     एभरेस्ट आवाज    
     माघ २२ गते २०८१ मा प्रकाशित




पोखरा । पोखराको बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थालाई डस्टबिन र कम्पोस्ट मल बिन वितरण गरिएको छ ।
कोइका र युएनडिपीको आर्थिक सहयोगमा मङ्गलबार ६०÷६० थान सो सामग्री प्रदान गरिएको छ । सो अवसरमा मल बनाउनका लागि आवश्यक केमिकल समेत प्रदान गरिएको हो ।

पोखरा महानगरपालिकाको आयोजनामा तथा ग्रीन वेस्ट म्यानेजमेन्टको सहजीकरण र बगैँचा टोल विकास संस्थाको सहकार्यमा टोल विकास संस्थाका सदस्यहरूलाई सो सामग्री प्रदान गरिएको छ ।

ग्रीन वेस्ट म्यानेजमेन्टका प्रशिक्षक कुशल घिमिरे र सुदीप गुरुङले कम्पोस्ट मल बनाउने तरिका र दिगो फोहर व्यवस्थापनका बारेमा टोल विकास संस्थाका सदस्यहरूलाई सिकाएका थिए । प्रशिक्षक घिमिरेले महानगरका ३३ वटै वडाका सक्रिय टोल विकासकालाई सहयोग गरिने कार्यक्रम रहेको जानकारी दिए ।

पोखरा महानगरपालिकाको वडा नं ६ मा रहेका सक्रिय टोल विकास संस्थाहरू मध्ये सक्रिय पाँच वटालाई प्रदान गर्ने योजना अनुसार बगैँचा टोल विकासलाई प्रदान गरिएको पोखरा वडा नं ६ का वडा सदस्य वासु बरालले जानकारी दिए ।

कार्यक्रममा बगैँचा टोल विकास संस्थाका अध्यक्ष मीना ढकालले संस्थाले सदस्यहरूका लागि विभिन्न कार्यक्रमहरू ल्याउने गरेको बताएकी थिइन । सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका निर्वतमान अध्यक्ष एवं संस्थाका सल्लाहकार नेत्र भण्डारीले डस्टबिन वितरण कार्यले सफा टोल बनाउन सहयोग पुग्ने बताए ।

अन्नपूर्ण आमा समूहका अध्यक्ष रेणु लामिछानेले टोल विकासले सदस्यहरूलाई विभिन्न तालिमहरू दिएको स्मरण गर्दै घरबाट निस्कने फोहरलाई कम्पोस्ट मल बनाई आय आर्यआर्जनको स्रोत बनाउनुपर्नेमा जोड दिइन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।