पोखरामा सोलार पोलमा मोटरसाइकल ठोक्किएर दुई युवाको मृत्यू


     एभरेस्ट आवाज    
     माघ २७ गते २०८१ मा प्रकाशित




प्रतिकात्मक तस्विर

पोखरा, माघ २७

पोखरामा आज विहान सोलार पोलमा ठोक्किएर दुई जना युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ लेकसाईडमा सोलार पोलमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक र मोटरसाइकलको पछाडि बसेका दुई युवाको मृत्यू भएको हो ।

मृत्यू हुनेमा मोटरसाइकल चालक पोखरा–२४ कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारी रहेका छन् ।

शनिबार मध्यरात १ बजे लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको ग.१३प. ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लेकसाईडको स्ट्रीट नम्बर ३ स्थित सडक छेउको सोलार पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई तत्कालै उद्धार गरेर उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।