सर्वेश्वरको भाग्यशाली उपहार बिजेतालाई स्कुटर हस्तान्तरण


     एभरेस्ट आवाज    
     माघ २८ गते २०८१ मा प्रकाशित




पोखरा, माघ २८

सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार बिजेताहरुलाई सोमबार उपहार हस्तान्तरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको सो समितिले नेपालीको महान चाँडहरु बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा तीन महिना लामो अवधी राखेर समितिले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजना गत माघ १९ गते शनिबार आयोजित साधारण सभाको अवसरमा खोलिएको थियो । समितिमा आवद्ध व्यवसायीहरुको होलसेल पसलबाट सामान खरिदमा निःशुल्क उपहार कुपन वितरण गरिएको थियो । जसमा ६० हजार भन्दा बढीले उपहार कुपन लिएको अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए ।

सो लक्की ड्रबाट बिजेता बनेकी पोखरा–१६ लामाचौरकी रिना बस्नेतलाई सोमबार स्कुटर हस्तान्तरण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली, समितिका अध्यक्ष तुलबहादुर थापा (राजन), सल्लाहकार तथा पूर्व अध्यक्ष धर्ममानसिंह भण्डारी, सल्लाहकारहरु प्रेम सुवेदी, नरहरी अधिकारीलगायतले उपहार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा लक्की ड्रबाट द्वितीय उपहार बिजेता बनेकी तनहुँ म्याग्दे गाउँपालिकाकी मेनुका पौडेललाईपनि ल्यापटप उपहार हस्तान्तरण गरियो ।

त्यस्तै, तृतीय उपहार बिजेता पोखराका समीर कोइरालालाई मोवाइल हस्तान्तरण गरियो ।

चौथो पुरस्कार बिजेता पोखरा–४ गैह्रापाटनका सौगात पाण्डेले साईकल उपहार जितेपनि उनलाई मायाको चिनो मात्रै प्रदान गरियो । स्थानिय व्यवसायी वा उनीहरुको परिवारलाई उपहार परेमा उपहार बदर गर्ने नीति यसअघि नै बनेकाले सोहि नीति अनुसार पाण्डेलाई साइकल उपहारको सट्टा मायाको चिनो स्वरुप अध्यक्ष तुलबहादुर थापा र महासचिव विशाल अधिकारीको तर्फबाट मायाको चिनो प्रदान गरिएको हो ।

सो लक्की ड्रमा सान्त्वना उपहार बिजेता बनेका पोखरा सेदीकी सृजना कँडेल, स्याङ्जा पुतलीबजार–११ की पूजा पौडेल र गीता पुनलाई ५\५ हजार हस्तान्तरण गरियो । अर्की सान्त्वना उपहार बिजेता ज्योतिसा राना मगर भने उपहार ग्रहण कार्यक्रममा सहभागी नभएकाले पछि दिईने महासचिव विशाल अधिकारीले जानकारी दिए ।

उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यापार प्रवर्ध्दनका लागि सर्वेश्वर व्यवसायी समितिले गरेको काम सराहनीय भएको बताए । उनले व्यापार प्रवर्ध्दनका लागि वडा कार्यालयलेपनि सघाउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा समितिसँग सहकार्य गरेर जान आफू तयार रहेको उल्लेख गरे । साथै उनले व्यापार प्रवर्ध्दनका लागि डिजिटल मार्केटिङ आवश्यक रहेको भन्दै त्यसका लागिपनि महानगरले तालिम गरिरहेकाले सकृय रुपमा सहभागिता जनाउन आग्रह गरे ।

सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यापार प्रवर्ध्दनका लागि निःशुल्क उपहार योजना सञ्चालन गरिएको बताए । उनले आगामी दिनमापनि व्यापार प्रवर्ध्दनका अन्य कार्यक्रमहरुपनि निरन्तर गर्ने बताए ।

सल्लाहकार प्रेमप्रसाद सुवेदीले निःशुल्क भाग्यशाली उपहार योजनाले व्यापार प्रवर्ध्दनमा सघाएको बताए ।

समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छविलाल गौतमले स्वागत मन्तव्य र महासचिव विशाल अधिकारीले सञ्चालन राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।