जनयुद्ध दिवसमा बागलुङको ताराखोला गाउँपालिकाले दियो सार्वजनिक बिदा


     एभरेस्ट आवाज    
     माघ २९ गते २०८१ मा प्रकाशित




पोखरा, माघ २९

बागलुङको ताराखोला गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको छ । नेकपा माओवादीले जितेको सो गाउँपालिकामा आगामी फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको हो ।

यसअघि सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गर्दै क्यालेण्डरमा नै उल्लेख गरेको थियो ।

तर अदालतमा परेको मुद्धाको फैसला गर्दै सर्वोच्च अदालतले संविधानले जनयुद्ध दिवस नचिन्ने भन्दै सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरेको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा सो पार्टीले मनाउँदै आएको छ ।

बागलुङ पोखरा सम्पर्क समन्वय समितिको मंगलबार पोखरामा आयोजित प्रथम अधिवेशनको उद्घाटन शत्रमा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले विगतको निरन्तरताका हिसाबले जनयुद्ध दिवसको सार्वजनिक बिदा दिइएको बताए । जनयुद्धकै कारण आज देशमा गणतन्त्र आएको छ र वर्गिय मुक्ति आन्दोलनले नया मोड लिएको छ,उनले भने,‘त्यसको योगदान स्वरुप सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो, अदालतले त्यसमा रोक लगायो भन्दैमा हामीले बिदा नदिने कुरा भएन । विगतमा पनि हामीले सार्वजनिक बिदा दिने गरेका थियौं र यसपटकपनि बिदा दिने निर्णय गरेका छौं ।’

अध्यक्ष विकले आफ्नो पालिकामा जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएपनि अन्य पालिकाले बिदा दिने हिम्मत नगरेकोमा असन्तुष्टि जनाए । देशको परिवर्तनको नेतृत्व गरेको जनयुद्ध दिवसमा बिदा नदिनू गलत हुने उनको तर्क छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।