उपप्रधानमन्त्री र मेयरको शरिर ५–६ प्रतिशत जलेको अस्पतालको रिपोर्ट, स्वास नली र फोक्सोमापनि असर पर्नसक्ने सम्भावना


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन ३

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य घाईते भएका छन् । भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन् पड्किएर लाग्दा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाईते भएका हुन् ।

उद्घाटनलाई भव्य बनाउन हाईड्रोजन भरिएको बेलुन उडाउने कार्यक्रम तय थियो । उद्घोषकले बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गरिदिन उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई आग्रह गरे । पूर्व निर्धारित योजना अनुसार उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य बेलुन नजिक के पुगेका थिए, नजिकै बालिरहेको झिरझिरे पटाकाको आगोको झिल्कोले हाईड्रोजन भरिएको बेलुनको झुप्पोलाई छोएपछि ठूलो आवाजसहित बेलुन पड्कियो । अचानक बेलुन पड्किएर लागेपछि उपप्रधानमन्त्री पौडेल मञ्चको पछिल्लो भागमा रहेको अन्य अतिथि बसिरहेको कुर्सी भएकोतर्फ दौडिए । मेयर आचार्य भने स्टेजबाट दर्शक दीर्घातर्फ हाम्फाले ।

उद्घाटनका क्रममा बेलुन पडिक्दा घाईते भएका उपप्रधानमन्त्री पौडेललाई घटनास्थलबाट नजिकै रहेको गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई गैह्रापाटनस्थित फिस्टेल हस्पिटल लगिएको थियो । उपप्रधानमन्त्री पौडेलको अनुहार, घाँटीको पछिल्लो भाग, देब्रे कानको पछिल्लो भाग र हत्केला तथा मेयर आचार्यको गाला, कानको माथिल्लो भाग र हत्केला जलेको छ ।

दुबै जनाको काठमाडौं कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । दुबैको सघन उपचार कक्षमा भर्ना भएर उपचार भइरहेको अस्पतालका डा.किरणकिशोर नकर्मीले एक सूचना निकालेर जानकारी दिएका छन् । अस्पतालका अनुसार प्रारम्भिक मूल्याङ्कनमा ५ देखि ६ प्रतिशतसम्म जलेको छ । अनुहारमा जलन भएकाले स्वास नली र फोक्सोमासमेत असर पर्नसक्ने सम्भावना रहेकाले दुबैलाई उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यसअघि दुबैलाई पोखरामा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं कीर्तिपुर अस्पताल लगिएको हो । नियमित उडान नभएकाले छुट्टाछुट्टै हेलिकोप्टरमार्फत काठमाडौं लगिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका स्वकीय सचिव पूर्ण लामाले जानकारी दिए । अवस्था सामान्य भएपनि जलनको समस्या जटिल हुने भएकाले चिकित्सकले काठमाडौं रिफर ग¥यो,उनले भने,‘त्यहि भएर काठमाडौं लगिएको हो ।’

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलीयाले मानवीय त्रुटीका कारण घटना भएको बताए । घटनाको शुक्ष्म अनुसन्धान भइरहेको भन्दै उनले भने,‘नघट्नुपर्ने घटना घट्यो, तर यो लापर्वाही भन्दापनि मानवीय त्रुटीका कारण भएको हो कि जस्तो देखिन्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।