दमौली । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ स्थित साँखे देवल मन्दिरको प्रचारप्रसारका लागि धार्मिक महोत्सव गरिने भएको छ । एक सय २० वर्ष पुरानो उक्त मन्दिरको संरक्षण र प्रवद्र्धन गरी धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित बिहीबारदेखि फागुन १५ गतेसम्म महोत्सव हुन लागेको हो ।
विसं १९६० को समयमा साँखे देवलमा दुई खोलाको सङ्गमस्थलमा रहेको शङ्खाकार ढुङ्गाबाट दाहिने शङ्ख बजेको सुनेर पुजा गर्दै आएका स्थानीयहरू अहिले उक्त स्थानलाई धामका रूपमा विकास गर्न महोत्सवको तयारीमा जुटेका हुन् ।
शिवालय क्षेत्रका रूपमा परिचित यो मन्दिरमा बर्सेनि शिवरात्री पर्वमा तनहुँ र स्याङ्जासहित विभिन्न स्थानबाट भक्तजन दूध चढाउन र रातभर जाग्राम बसेर ठाँडो बत्ती बाल्न सहभीगी हुने शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ अर्यालले बताए । उनका अनुसार यो मन्दिरमा पूजा आराधना गर्नाले निसन्तान जोडीलाई सन्तान प्राप्ति हुने र मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाका साथै स्याङ्जाको हरिनास र बिरुवा गाउँपालिकाको केन्द्रमा पर्ने मन्दिरमा आयोजना गरिने धार्मिक महोत्सवले यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरू, जन्ते ढुङ्गा क्षेत्र, सीतापाइला, जनकवि गोकुल जोशीको जन्मस्थान, रजस्थलकोट दरबार र मिलेनियम गुफालगायत पर्यटकीय स्थानको प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
श्रृङ्गारिक महाआरतीसहितको धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिरको भौतिक विकाससँगै, दैनिक पूजापाठ सुरु गर्ने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा मन्दिरको बारेमा प्रचारप्रसर गर्ने लक्ष्य रहेको महोत्सव मूल समारोह समितिका संयोजक गङ्गाराम भट्टराईले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







