महाशिवरात्रि पर्वमा गण्डकी प्रदेश प्रमुखद्वारा शुभकामना सन्देश

- ‘नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस्’


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले महाशिवरात्रि पर्व २०८१ को अवसरमा प्रदेशबासीसहित सम्पूर्ण नेपालीजनमा शुभकामना व्यक्त गरेका छन ।

कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रि पुराणमा वर्णित रहेको बतादै उनले यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने उल्लेख गरे ।

‘व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको यस महाशिवरात्रिको अवसरमा नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । भगवान शिवको सम्बन्ध नेपाली पवित्र भूमिसँग गाँसिएको विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ ।’ शुभकामना सन्देशमा भनिएको छ– ‘शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू-भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो ।’

हरेक समुदाय तथा जातजातिका आआफ्ना रितीरिवाज, चाडपर्व र संस्कृति भएपनि सबै जाति र धर्म मान्ने सम्प्रदायले विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको उनको भनाई छ ।

साथै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको २६२ औँ स्थापना दिवसका अवसरमा पनि उनले नेपाली सेनालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।