
पोखरा, फाल्गुन १८
भारतीय गाडीहरुको अस्थायी भन्सार अबदेखि पोखराबाटै हुने भएको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयबाटै अब भारतीय गाडीहरुको अस्थायी भन्सार म्याद थप हुने भएको हो । भारतीय गाडीहरु पोखरा आएका बेला भन्सार अवधी सकिएको अवस्थामा उनीहरुलाई अस्थायी भन्सार म्याद थप गर्न सकिने व्यवस्था गरिएको भन्सार एजेन्ट संघ कास्कीले जनाएको छ । उनले भने,‘पोखराबाटै गाडीको म्याद थप गर्ने व्यवस्था भइसकेको छ । सम्पूर्ण प्रक्रिया टुंगिइसकेको छ । अब एजेन्टहरुले आईडी र पासवर्ड पाउने वित्तिकै त्यो काम शुरु हुन्छ । त्यसका लागि दुई÷तीन दिन लाग्ला ।’
यसअघि पोखराबाट स्थायी वा अस्थायी दुबै किसिमबाट भारतीय गाडीको भन्सार म्याद थप गर्न नसकिने अवस्था थियो । जसले गर्दा अस्थायी पैठारी गरेर पर्यटक बोकेर आएका भारतीय गाडीहरु समस्यामा पर्ने गरेका थिए । पोखरा आएका बेला म्याद सकिएको खण्डमा ती गाडीहरु भन्सार अवधी थप गर्न भैरहवालगायतका तराईका भन्सार नाका धाउनुपर्ने बाध्यता थियो ।

पोखराबाटै अस्थायी भन्सार पास थप्न मिल्ने भएपछि अब पोखरामा भारतीय पर्यटकको बसाई लम्बिने विश्वास व्यक्त गरिएको छ ।
भन्सार एजेन्ट संघ कास्कीका बरिष्ठ उपाध्यक्ष सागर भण्डारीले पोखराबाटै अस्थायी भन्सार पास हुनु स्वागतयोग्य भएको बताए । यसले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पार्ने र भारतीय पर्यटकको बसाईपनि लम्बिने बताए । उनले भने,‘पर्यटक बोकेर पोखरा आएका गाडीहरु म्याद सकिएपछि हतारहतार फर्किनुपर्ने बाध्यता हट्नेछ । जसले गर्दा पर्यटकको बसाई लम्बिन्छ र पोखराको पर्यटन थप गुल्जार हुन्छ ।’
समितिका कास्की अध्यक्ष सुमन तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्नको लागिपनि यसले सघाउने बताए ।
भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचिनकुमार थैवले पोखरामा अस्थायी भन्सार नहुँदा भारतीय पर्यटक मारमा परेको भन्दै बारम्बार गुनासो आउने गरेको बताए । तर अब पोखराबाटै भारतीय गाडीको म्याद थपिन सक्ने भएकाले यो गुनासो कम आउने विश्वास व्यक्त गर्दै उनले भने,‘यसले पोखरामा पर्यटकहरु धेरै दिनसम्म बस्ने वातावरण बन्नेछ । साथै भन्सार पास सकिएर हतारहतार तराईका भन्सार नाका धाउनुपर्ने बाध्यताकोपनि अन्त्य हुनेछ ।’ उनले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा कार्गोसहितको भन्सार सञ्चालन गर्नुपर्नेपनि बताए । उनले भने,‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट कार्गोसहितको भन्सार सुचारु हुनुपर्छ । यसका लागि हामी पहल गर्छौं ।’
पोखरा अन्र्तराष्ट्रिय विमास्थलका भन्सार अधिकृत डिल्लिराम सुवेदीले यस भन्सारबाट हुने सेवालाई प्रभावकारी बनाउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भन्सार एजेन्ट महासंघका महासचिव भोलानाथ अर्यालले काठमाण्डौमा कार्गोका डनहरु रहेको र उनीहरुले पोखरामा कार्गो ल्याउन नदिन सिन्डिकट लगाएको आरोप लगाए ।
यसैबीच, राष्ट्रिय भन्सार एजेन्ट परिषद पोखरा र भन्सार एजेन्ट महासंघ पोखराबीच मर्जर भई सुमन तिमिलसिनाको अध्यक्षतामा भन्सार एजेन्ट संघ कास्की गठन भएको छ । हालै भएको दुई संघबीचको संयुक्त भेलाले तिमिल्सिनालाई मर्जरपछिको अध्यक्ष चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा सागर भण्डारी, उपाध्यक्षमा डि.आर लामिछाने, सचिवमा सुवास ढकाल र कोषाधक्षमा सुर्यबहादुर थापा तथा सदस्यहरुमा सुजाता अधिकारी, सुवास लम्साल, बुद्ध तामाङ र अनिसा श्रेष्ठ चयन भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।