कास्कीको मादी गाउँपालिकामा स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता हुने


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०८१ मा प्रकाशित




फागुन १८ पोखरा । कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी फागुन २७ गतेदेखि दोस्रो अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी दिएको हो । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले स्थापना दिवसमा विविध कार्यक्रम गरेर मनाउन लागिएको जानकारी दिए । जस अन्तरर्गत भलिबल प्रतियोगिता मुख्य कार्यक्रम रहेको छ ।

प्रतियोगिता गाउँपालिकाको वडानम्बर ६ याङ्जाकोटमा २९ गतेसम्म सञ्चालन हुनेछ । पहिलो अध्यक्ष कप पालिका स्तरीय भएपनि अहिले खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष गुरुङले बताए ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ तर्फ उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने पालिकाले जनाएको छ । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

पालिका स्थापना दिवसको अवसरमा पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अवधिभर होमस्टेमा १ हजार रुपैयाँको प्याकेज रहेको पालिकाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।