पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन स्याङ्जाको वालिङमा हुने

- डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा गुञ्जिने


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०८१ मा प्रकाशित




पोखरा, माघ २४

सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला) स्याङ्जाको वालिङमा हुने भएको छ । पोखराको अपार सफलतापछि आगामी चैत १ गते स्याङ्जाको वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । च्याम्बर अफ कमर्स बालिङ र ट्रिनिटी क्लव वालिङको आयोजनामा हाल वालिङ बजारमा प्रथम पिङ्क सिटी महोत्सव चलिरहेको छ । सोहि महोत्सव अन्तर्गत चैत १ गते शुक्रबार दिउँसो ३ बजेदेखि राती ९ बजेसम्म ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरु गुञ्जिने जनाइएको छ ।

नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउने अभियान अन्तर्गत वालिङमा दोश्रो श्रृंखला हुन लागेको ‘व्याक टु नाइन्टिज’का संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड गुञ्जिने उनले बताए । स्थानिय व्यवसायी तथा समाजसेवीहरु बिजय मल्ल, बिजयविक्रम खाँड, सुनिल खनाल, टेकबहादुर कार्की, बिरेन्द्र केसी र सोनी खानको विशेष सहयोगमा आयोजित कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लिन सक्नेछन् ।

वालिङमा हुने सेकेण्ड एडिसनसँगै ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान शुरु हुने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । ९० को दशकमा उदाएर पोखरालाई व्याण्डहरुको राजधानी बनाएका यी व्याण्डहरुले सोहि विरासत फर्काउन संघका सचिव भाष्करध्वज श्रेष्ठको ‘व्याक टु नाइन्टिज’को कन्सेप्ट जन्मिएको हो । पोखराको अपार सफलतासँगै यो अभियान देशव्यापी लैजाने तयारीमा कलाकार संघ रहेको छ । वालिङपछि म्याग्दीको बेनी, लमजुङको बेशीसहर, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, ईलाम, विर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंलगायतका ठाउँमा गर्ने तयारी भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ । अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहनेछ । त्यसका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वचन दिइसकेको र केहि दिनपछि नै महानगरसँग सम्झौता हुने कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।