
पोखरा, फागुन २८
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत ५ गते पोखरा–छेन्दु चार्टर्ड उडान हुने भएको छ । पोखरा पर्यटन परिषदको पहलमा आगामी चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान हुन लागेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सो दिन बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर आएको सिचुवान एयरलाईन्सको विमान पोखरा विमानस्थल अवतरण हुनेछ । सोहि विमानबाट दिउँसो १२ बजे १२७ जना पोखराबाट पर्यटन व्यवसायीको टोली छेन्दु प्रस्थान गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार वटा अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाईट भइसकेको छ । तर अन्य देशबाट पोखरामा चार्टर्ड फ्लाईट भएपनि पोखराबाट भने पहिलो अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाईट हुन लागेको हो ।
यो चार्टर्ड फ्लाईटबाट नियमित अन्र्तराष्ट्रिय फ्लाईटको लागि ढोका खुल्ने विश्वास गरिएको छ । व्यवसायीलेपनि विश्वका जुनसुकै विमानस्थलबाट नियमित फ्लाईट हुनुअघि पहिलो फ्लाईट चार्टर्ड फ्लाईटबाटै शुरुवात भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागिपनि यो फ्लाईट नियमित चार्टर्ड फ्लाईटका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
चैत ५ गते शुरु हुने चार्टर्ड फ्लाईटपछि हरेक हप्ता पोखरा–छेङ्दु नियमित फ्लाईट हुने जनाइएको छ । त्यसको प्रयास स्वरुप हालसम्म १० हप्ताका लागि १० वटा चार्टर्ड फ्लाईटको सम्झौता भइसकेको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए । उनका अनुसार पहिलो चार्टर्ड फ्लाईट व्यवसायीहरुको हुनेछ । जसमा पोखराका पर्यटनसँग सम्बद्ध व्यवसायीहरु सहभागी हुनेछन् । व्यवसायीको फ्लाईट भनिएपनि सो फ्लाईटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका प्रमुख मणीराज तिमिल्सिना, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायत सहभागी हुने जनाइएको छ ।
पहिलो फ्लाईट भएको एक हप्तापछि दोश्रो फ्लाईटमा पोखराका लब्ध प्रतिष्ठित व्यक्तिहरुसँग पत्रकारहरुको टोली छेङ्दु जानेछन् भने त्यसपछिको हप्तामा हुने तेश्रो फ्लाईटमा सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरु जाने तयारी गरिएको पोखरा पर्यटन परिषदले जनाएको छ । नियमित चार्टर्ड फ्लाईटका लागि चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दु र नेपालस्थत चाइनिज ओभरसिज एसोसिएसनले समन्वय गरिरहेको परिषदका अध्यक्ष पहारीले बताए । उनका अनुसार आगामी तीन महिना भित्रमा चीनको सिचुवानबाट एक हजार २५० जना भन्दा बढी चिनिया पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ । यो प्रयास चिनिया दूतावासको सहयोगमा भइरहेको उनले बताए ।
व्यवसायीक चार्टर्ड उडानबाट शुरु भएको यो अभियान व्यावसायिक उडानमा परिणत हुने विश्वास पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘अब व्यवसायीक उडान हुनुपर्छ । त्यसका लागि धेरै ढिला भइसक्यो । अब हुने चार्टर्ड फ्लाईटले त्यसको ढोका खोल्नेछ ।’ उनले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल फूलफ्लेजमा सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताए । उनले चीनबाहेक भारतलगायतका देशमापनि सिधा हवाई सम्पर्कका लागि पहल भइरहेकोसमेत उल्लेख गरे ।
नेपालस्थित चिनिया राजदूतावासका डिसिएम वाङ सिनले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान गराउनका लागि चीन तयार रहेको बताए । त्यसका लागि वातावरण बनाउनुपर्ने भन्दै उनले भने,‘यसले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ । साथै आर्थिक चलायमान गराउनपनि भूमिका खेल्नेछ ।’ जसले गर्दा नेपाल र चीनबीचको सम्बन्धपनि मजबुत बन्ने उनको विश्वास छ ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले चार्टर्ड फ्लाईट नियमित व्यवसायीक उडानका लागि लगानी भएको बताए । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल नेसनल हो कि ईन्टरनेसन ? भनेर बारम्बार प्रश्न उठ्ने गरेको छ,उनले भने,‘यो चार्टर्ड फ्लाईटले त्यसको जवाफ दिनेछ ।’ उनले नियमित व्यवसायीक उडानका लागि प्रधानमन्त्री स्तरबाट कुटनीतिक पहल गर्न जरुरी रहेकोसमेत बताए ।
नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका प्रमुख मणीराज लामिछानेले चैत ५ गते हुने चार्टर्ड फ्लाईट अन्र्तराष्ट्रिय उडानको शुरुवात भएको बताए । उनले भने,‘यो स्टार्टिङ चार्टर्ड फ्लाईट हो । पछि यसले व्यवसायीक फ्लाईटको रुप लिन्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।