स्याङ्जा । देशमा धेरै उथलपुथलबाट नै व्यवस्था परिवर्तन हुने राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरूङले बताएका छन् । विहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को स्याङ्जाको आँधीखोला गाउँपालिकाको पाँचौ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष गुरूङले यस्तो बताएका हुन् ।
उनले देशमा संघीयता आएपछि जनताको दैनिकी परिवर्तन हुन्छ भन्ने आशा पूरा हुन नसकेको उनले बताए । ’देशमा च्याउ उम्रे जस्तो पार्टी उम्रिए पनि जनतासंग चुनावको समयमा मात्र देश परिवर्तनको सपना बाँड्छन्’ उनले भने । गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य गुरूङले अहिलेका नेता देश र जनता भन्दा पनि आफ्नो जीवनशैली परिवर्तन गर्नतिर लागेको बताए ।
विकास पार्टीको मात्रै नभई सबैको साझा रहेको उनको भनाई छ । ’राजा फाले विकास हुन्छ जनताको अवस्था फेरिन्छ भने ठीक छ भनेर हामी मौन बस्यौ’ उनले भने, ’समर्थन गर्याै तर, खै यत्तिका वर्षमा जनताको अवस्था फेरिएको ?’ धर्मको नाममा विदेशी डलर ल्याएर धर्म निरपेक्षता गरिएको बताउदै उनले उक्त रकमबाट नेपाली नेता धनाड्य हुन थालेको बताए । ’हामीले राजतन्त्र होईन राजसंस्था ल्याउने हो’ उनले दोहोर्याए, ’राजाको बेला तानाशाही थियो भनेर भ्रम फैलाइएको छ ।
०४७ साल अघि राजाले पनि संविधान अनुसार नै काम गरेको छ । अहिलेका नेता राजा भन्दा माथी भए । यिनीहरूलाई जनताले परीक्षा गरिसके ।’ उनले नेताले पटकपटक गरेका गल्तीलाई माफ दिन नसकिने बताउदै राप्रपा आफ्नो मूल्य र मान्यतालाई आत्मसाथ राख्दै अघि बढेको तर्क राखे । १० वर्षे द्वन्द्वले केही नयाँ अवसर ल्याएको भए पनि १० वर्ष पछाडि पनि धकेलेको उनको भनाई थियो । ’अब जनता एक ठाउँमा उभिएर देशलाई नवीन समझदारीबाट निकाश दिने गरि उभिन आवश्यक छ’ उनले भने ।
पार्टीका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतलाई नयाँ ढंगबाट सोच्न बाध्य बनाएको बताए । ’राजाको भ्रमणले जनता राजा र राजतन्त्रको पक्षमा रहेछन्’ उनले भने, ’स्याङ्जामा लागेको भीडको कुरा गरौ काठमाडौको जुलुसबारे व्याख्या गर्न आवश्यक छैन् ।’ उनले गणतन्त्रले मुलुकको न्याय नगरेको बताउदै जनताको आधारभूत आवश्यकता पूरा गर्नसमेत नसकेको बताए । गणतन्त्रले गाउँमा विकास नल्याएको उनको दावी छ । ’अहिले सरकार कहाँबाट कसरी लुट्न सकिन्छ भन्नेतिर केन्द्रीत छ । ठूला दुई दलले सरकार चलाएका छन् । बाहिर देखाउदा एकथरी , भित्र अर्कै छन् । प्रतिपक्षमा बस्दा अवसर नपाउने र माओवादीले एकलौटी नेतृत्व गर्दा राम्रा कार्य गर्न थाल्यो भने काँग्रेस–एमालेले रातारात सरकार बनाए ।’ उनले हिन्दु राष्ट्रसहित राजसंस्था आएपछि जनताको समस्या र गुनासा सम्बोधन हुने बताए ।
आँधीखोला गाउँपालिका–५ जुग्लेमा सम्पन्न पाँचौ अधिवेशनले सूर्यबहादुर ढकालको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ ।
उपाध्यक्ष र सचिवको टुंगो लागेको छैनभने, कोषाध्यक्षमा हिरा अधिकारी निर्वाचित भएका छन् । यसअघि पालिकाको ६ वटै वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ । वडा नम्बर–१ मा भुवानीप्रसाद लामिछाने, २ मा निर्मला विक, ३ मा ओमप्रकाश शर्मा, ४ मा दुर्गाप्रसाद उपाध्यय, ५ मा कृष्णबहादुर क्षेत्री र ६ ओमबहादुर गुरूङ रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध…





