माओवादी कास्कीमा कोइराला समूहको समानान्तर गतिविधि कायमै, स्ववियू निर्वाचनमा छुट्टै प्यानल


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०८१ मा प्रकाशित




पोखरा, चैत ३

नेत्रनाथ अधिकारी (हिमाल) ईञ्चार्ज बनेर आएपछि नेकपा माओवादी केन्द्र कास्कीमा गुटगत लडाईं अन्त्य हुने कार्यकर्ताको अपेक्षा थियो । किनकी राजकाजी गुरुङ (करण) र रामजीप्रसाद बराल (जीवन)लाई देखाएर दीपक कोईराला (रुपक)ले पार्टी भित्र असन्तुष्टि जनाउँदै आएका थिए । त्यो असन्तुष्टि बढ्दै गएर समानान्तर गतिविधिमासमेत परिणत हुन थालेपछि करीब २ महिनाअघि पार्टी हेडक्वाटरले कास्की ईञ्चार्ज फेर्दै अधिकारीलाई ईञ्चार्ज बनाएको थियो । राजकाजी र रामजीलाई कुनैपनि हालतमा ईञ्चार्ज नस्वीकारेका कोइराला आफै ईञ्चार्ज बन्ने ध्याउन्नमा थिए । तर हेडक्वाटरले कोइरालालाई नपत्याएपछि तत्कालको समाधान स्वरुप विकल्पमा अधिकारी ईञ्चार्ज बनेर आए ।

तर अधिकारी ईञ्चार्ज बनेर आएपनि कोईराला समूहले समानान्तर गतिविधि भने कायमै राखेको छ । आफै ईञ्चार्ज बनेर कास्की पार्टी हाँक्ने उनको चाहना पूरा नभएपछि कोईरालाले समानान्तर गतिविधि कायमै राखेको पार्टी निकट श्रोतले बताएको छ । त्यसको पछिल्लो कडीका रुपमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा देखिएको छ । कास्की पार्टी नेतृत्वले देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्प (पिएन) र जनप्रिय क्याम्पसमा उम्मेदवार टुंग्याएर अखिल क्रान्तिकारीको एकल प्यानल बनाएको छ तर कोईराला समूहले फरक पार्टीसँग मिलेर संयुक्त प्यानल बनाउँदै आफू निकटका विद्यार्थीलाई चुनावमा होमिन बाध्य बनाएका छन् ।

नेतृत्वले पिएन क्याम्पसको सभापतीको उम्मेदवार नविन अधिकारी, सचिवमा मिराज थापा मगर, कोषाध्यक्षमा सृजना शर्मासहित प्यानल बनाएको छ । तर कोईराला समूहले समाजवादी विद्यार्थी संगठन र विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीसँग मिलेर संयुक्त प्यानल बनाएको छ । यहाँ संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतीको उम्मेदवार बन्दा कोईराला पक्षका किरण खड्का सचिवको उम्मेदवार बनेका छ। यो समुहबाट अखिल समाजवादीका सचिन पौडेल (सी) कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा रहेको प्यानल बनाउन भूमिका खेलेका सुदर्शन पराजुलीले बताए ।

संस्थापनले जनप्रिय बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी संगठन र विप्लव निकटको अखिलसँग मिलेर प्यानल बनाउने तयारी गरेको थियो । तर कोइराला समूहका विद्यार्थीहरुको दवाबमा उम्मेदवारी दर्ता गर्न रोकिएको उनीहरुको दाबी छ । यहाँ कोइराला समूहले एमाले निकट अनेरास्ववियूसँग मिलेर संयुक्त प्यानल बनाएको छ । जसमा अनेरास्ववियूका आविस्कार केसी सभापतीको उम्मेदवार छन् भने सचिवमा कोइराला समूहको अखिल क्रान्तिकारीबाट उत्सव भुषाल उम्मेदवार बनेका छन् । संस्थापन पक्षले भुषाल अनेरास्ववियूमा प्रवेश गरेर उम्मेदवार बनेको आरोप लगाएको छ । तर भुषाल स्वयम्ले भने आफू अनेरास्ववियू प्रवेश नगरेको बताउँदै अनेरास्ववियू र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट आफू उम्मेदवार बनेको जिकीर गरे । ‘भन्न त के के भन्छन् भन्छन्, तर म अखिल क्रान्तिकारीको तर्फबाट सचिव पदको उम्मेदवार हुँ’–उनले भने । यद्वपी उनले सामाजिक सञ्जाल फेसवुकमा अनेरास्ववियूको उम्मेदवार भनेर मत मागेको पोष्ट देखिएको छ ।

कोइराला समूहले समानान्तर गतिविधि गरेपछि संस्थापन पक्षले उनीहरुलाई कारवाही गर्ने चेतावनी दिन थालेका छन् । अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष लेनिन सुवेदीले सामाजिक सञ्जाल फेसवुकमा समानान्तर गतिविधि गर्ने समूहलाई हिसाबकिताव गर्ने चेतावनी दिएका छन् । उनले लेखेका छन्,‘माओवादीको मुकुट लगाएर एमालेको गुलामी गर्ने दलालहरुसँग राम्रै हिसाबकिताव हुन्छ ।’

अखिल क्रान्तिकारीका अर्का नेता मनिस माम्बा तामाङले उनीहरुलाई सफाई(निकाला) गरेपछि मात्र पार्टी र संगठन बन्ने उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘माओवादी हुँ भन्ने एमाले र एकीकृत समाजवादीको ठेक्का लिनेलाई पार्टीबाट निकाल्नुपर्छ । होईन भने यिनीहरुको सफाई गरेपछि मात्र कास्की पार्टी बन्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।