नेविसंघको अवरोधका बाबजुद डब्लुआरसीमा मतदान जारी

- कांग्रेस कास्कीका सभापती किशोरदत्त बरालले सचिवको टिकट बेचेको आरोप


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०८१ मा प्रकाशित




पोखरा, चैत ५

नेपाल विद्यार्थी संघ संस्थापन ईतर पक्षको अवरोधको बाबजुद इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ । सचिव पदमा उम्मेद्वारी दिन पाउनुपर्ने भन्दै अनसनसहित गेटमा तालाबन्दी गरेर नेविसंघले पु¥याईरहेको अवरोधका बाबजुद मतदान जारी राखिएको हो । मूल गेटमा ताला लगाएपनि क्याम्पसको तल्लो गेटबाट विद्यार्थीलाई प्रवेश गराएर मतदान भइरहेको छ । क्याम्पस भित्र छात्रावासमा बसेका विद्यार्थीहरुले विहानैदेखि मतदान गरेपनि गेट बाहिर रहेकाले दिउँसो २ बजेपछि मात्रै मतदान गर्न पाएका हुन् ।

यसअघि नेविसंघको एउटा समूहले सोमबारदेखि नै क्याम्पसमा रिले अनसन गरेको थियो भने चुनावको दिन मंगलबार विहानदेखि मूल गेटमा तालापनि लगाएको थियो । नेविसंघ कास्कीका उपसभापती चुमान गुरुङ नेतृत्वको समूहले आफूहरुलाई सचिवमा उम्मेदवारी दिनबाट रोकिएको भन्दै चुनाव हुन नदिने अडान राखेको थियो । उनीहरुले गेटमा बसेर विद्यार्थीलाई धम्क्याउँदै मतदानमा सहभागी नहुन चेतावनी दिनुका साथै जबरजस्ती प्रवेश गर्न खोज्नेलाई धकेलाधकेलसमेत गरेको थियो ।

नेविसंघको सो आन्दोलनमा संस्थापन समूह मानिने नेपाली कांग्रेस कास्कीका सभापती किशोरदत्त बराल पक्षको असहमती छ । सो समूहले अनेरास्ववियुलाई सहयोग गर्ने वचन दिएअनुरुप सचिव छाडेको थियो । सो समूहले सचिवको उम्मेदवारी दर्ता नगरी चुनाव गर्न सहमती दिएपछि क्याम्पस प्रशासन चुनाव गराउन तयार भयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतराज पाण्डेलेपनि कडा सुरक्षा व्यवस्था मिलाएर चुनाव गराउन निर्देशन दिएपछि दिउँसो २ बजेदेखि गेट बाहिर रहेका विद्यार्थीलाई दोश्रो गेटबाट भित्र प्रवेश गराएर चुनाव गराइएको हो ।

यसअघि आन्तरिक विवादका कारण नेविसंघले सचिव पदमा उम्मेदवारी दर्ता गराउन पाएको थिएन । नेविसंघले सौगात पण्डित सभापती, वसन्त जोशी सचिव र रस्मीताकुमारी झालाई कोषाध्यक्ष बनाएर निर्वाचनमा जान मनोनयन दर्ता गराएका थिए । तर, कांग्रेस गण्डकीका सभापती शुक्रराज शर्मा पक्षले सचिव पद आफ्नो समूहलाई नदिएको भन्दै मनोनयन पत्र नै च्यातिदिएको थियो । त्यसपछि नेविसंघ केन्द्रीय समितिले प्रशान्त उपाध्यायलाई सचिवको उम्मेदवार बनाउन भन्दै परिपत्र गरेपनि मनोनयनको समय घर्कीसकेको भन्दै उम्मेदवारी दर्ता गर्नबाट बञ्चित भएको थियो । त्यसपछि शर्मा पक्षले कांग्रेस कास्कीका सभापती किशोरदत्त बरालले सचिवको टिकट बेचेको भन्दै रिले अनसन र चुनाव बिथोल्न खोजेको हो ।

२०७९ को चुनावमा नेपाल विद्यार्थी संघकै आन्तरिक विवादका कारण क्याम्पसको चुनाव बिथोलिएको थियो ।

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा कुल २ हजार ४१ मतदाता रहेको क्याम्पसले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।